शिक्षा ऐनको मागमा आन्दोलनरत शिक्षक महासंघ र सरकार बीच वार्ता प्रारम्भ

शिक्षा ऐनको मागमा आन्दोलनरत शिक्षक महासंघ र सरकार बीच वार्ता प्रारम्भ
  • २७ चैत्र २०८१, बिहीबार १८:४६

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि राजधानीमा आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे औपचारिक वार्ता सुरु भएको छ। वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो।

वार्तामा महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ भने सरकारको पक्षबाट शिक्षामन्त्री विद्या भट्टराईसहित मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित छन्।

महासंघले आन्दोलन, संवाद र वार्तालाई समानान्तर रूपमा अघि बढाउने रणनीति अपनाएको जनाएको छ। सहअध्यक्ष पराजुलीले भनिन्, “संवाद र आन्दोलन दुवै आवश्यक छन्। हामी वार्ताको विरोधी होइनौं तर केवल आश्वासनका आधारमा वार्तामा बस्न सक्दैनौं। शिक्षा ऐन जारी हुने ठोस विश्वास आवश्यक छ।”

महासंघले सरकारसमक्ष शिक्षा ऐन जारी गर्न तीनवटा विकल्प प्रस्ताव गरेको छ— संसदको विशेष अधिवेशन बोलाउने, नियमित बर्खे अधिवेशनलाई अगाडि सार्ने वा अध्यादेशमार्फत ऐन ल्याउने। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई दवावमा पार्ने प्रयासहरूको आलोचना गर्दै सबै शिक्षक तथा कर्मचारीलाई एकताबद्ध भएर आन्दोलनमा टिकिरहने आग्रह गरेका छन्।

यद्यपि शिक्षा मन्त्रालयले अघिल्ला दिनहरूमा वार्ताका लागि आग्रह गरे पनि महासंघले शिक्षा ऐनको सुनिश्चितता नभएसम्म वार्तामा सहभागी नहुने अडान लिएको थियो। यद्यपि आजदेखि वार्ता प्रारम्भ भएको छ।

सरकार र शिक्षक महासंघबीचको छलफल जारी रहेको छ भने दुवै पक्षबाट समाधानमूलक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।