सात स्थानबाट राजावादीको जुलुस निस्किने, मैतीदेवीबाट लिङदेनको नेतृत्व

काठमाडौं– राजसंस्था पुनस्र्थापनाको माग राख्दै आजबाट काठमाडौं केन्द्रित संयुक्त जनआन्दोलन सुरु हुँदैछ । संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो ।
काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए ।
आजै बजेट भाषण भएकाले लिङदेन संसद पनि जानुपर्ने छ । उनी आन्दोलनमा सहभागी भइसकेर ३ बजे सम्भवतः संसद जाने छन् ।
आज राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ । संयुक्त जनआन्दोलन समितिका वयोवृद्ध संयोजक नवराज सुबेदी पनि आउनेछन् । यसअघि उनी तीनकुनेको आन्दोलनमा जाँदा प्रहरीको अश्रुग्यास खाएपछि भाग्नुपरेको थियो ।