किसानको प्रश्न मल खोईः कृषि मन्त्रालय भन्छ, ‘लोड हुँदै छ भदौमा आउँछ’
काठमाडौं– धानबाली लगाउने समयमा किसानले मल पाएका छैन । विगतमा जस्तै यस वर्षपनि मलको अभाव देखियो । देशभरका किसान मल विक्रेता केन्द्रमा दैनिक बोरा बाकेर धाउने गरेका छन् । तर मल भने पाउँदैनन् ।

एकतिर धान रोप्ने चटारो छ । भने अर्कोतिर मल नपाएर दैनिक सरकारीमा धाउनुपर्ने चितवनका किसान गौरव लामिछानेले जानकारी दिए । यो वर्ष अभाव हुन नदिन सरकारले रासायनिक मल खरिदका लागि बजेट बढाए पनि अभाव भने कायमै रहेको कारण यस वर्ष उत्पादन घट्ने उनको चिन्ता छ ।
कृषक समूह महासंघ नेपालका अध्यक्ष पन्चकाजी श्रेष्ठकाअनुसार एउटा कृषकले जम्मा १० देखि १५ किलो मात्र मल पाएका छन् । त्योभन्दा बढी खरिद गर्छुभन्दा पाइदैन् । कुनै ठाउँमा १० देखि १५ किलो पनि मल नभएको गुनासो किसानले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार किसानलाई हरेक वर्ष मल अभाव हुने गरेको छ । विगतका वर्ष जस्तै यो पटक पनि रासायनिक मल अभाव देखिएको हो ।
यस्तै, धानबालीमा किसानलाई मलको सहज आपूर्ति व्यवस्थापन गर्ने ५ लाख ५० हजार टन मल खरिद गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८१÷८२ का लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
पछिल्लो समय रासानियक मलको माग बढ्दै जाँदा बर्सेनि मल अभाव हुने गरेको कृषि तथा पशुपन्छी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख सहसचिव रामकृष्ण श्रेष्ठको भनाइ छ । देशभरी नै अहिले कृषकले सहज रूपमा मल पाइरहेका छैनन् । मल आपूर्तिका लागि सहजीकरण चाँडै हुने उनको दाबी छ । ‘हाल सरकारले रासायनिक मल खरिदका लागि छुट्याइएको बजेटले करिब ४ लाख टन मल खरिद भएको छ । कृषकको मागअनुसार उक्त मलले नपुग्ने हुँदा हाल विभिन्न क्षेत्रमा मल अभाव देखिएको हो ।’ उनले भने ।
सहसचिव श्रेष्ठका अनुसार देशभर १३ लाख टन रासायनिक मलको आवश्यकता पर्छ । तर, सबै क्षेत्रमा कृषकले रासायनिक मल मात्र प्रयोग नगर्ने हुँदा करिब ७ लाख टन मल हुँदा धानबालीलाई मल अभाव नहुने उनले जानकारी दिए ।
सहसचिव श्रेष्ठका अनुसार हाल ७४ हजार ६१२ टन मल मौज्दात छ । जसमा युरिया ४२ हजार ९५ टन छ भने डिएपी २४ हजार ४७ टन छ । यस्तै पोटास ८ हजार ४ सय ६९ टन छन् । चालु वर्षमा अनुदानको मल किन्न २७ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ । उक्त रकमबाट ५ लाख ५० हजार टन खरिद गर्ने लक्ष्य छ । गत आर्थिक वर्षको परिमाणलाई हेर्दा १५ असारसम्म ३ लाख ६९ हजार १५ टन मल आयात भएको छ ।
साल्ट टे्रडिङ कम्पनीको ३४ हजार टन युरिया मल कोलकोत्ताबाट नेपाल प्रवेश गरेको अवस्था छ । कृषि सामग्री कम्पनीको ३० हजार टन युरिया स्रोत मुलुकमा लोडिङ भई कोलकोत्ता आइरहेको र नेपाल आयात हुने क्रममा रहेको छ ।
साल्ट टे्रडिङले अर्काे २२ हजार टन युरिया स्रोत मुलुकमा लोडिङ भई कोलकोत्ता आउने क्रममा रहेको र कृषि सामग्री कम्पनीको ३० हजार टन डिएपी स्रोत मुलुकबाट सिपमेन्ट भई कोलकोत्ता आइपुगेको मन्त्रालयले बताएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकले पछिल्लो समय सहज रूपमा मल नपाइरहेको कुरा स्वीकार गरेका छन् । कृषिमन्त्री अधिकारीले भने,‘किसानको माग धेरै छ, आपूर्ति कम हुँदा स्वाभाविक रूपमा अभाव छ ।
सबै क्षेत्रका लागि १३ लाख टन मल आवश्यक पर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । करिब ४÷५ लाख टन मात्र मल आयात भइरहेका कारण मागभन्दा आपूर्ति कम भएपछि अभाव भएको उनले बताए । ‘सरकारले किसानलाई मल दिनुपर्छ । करिब ६०÷७० हजार टन मल मौज्दात रहेको पनि मन्त्रालयले बताएको छ । केही मल कोलकतामा आइसकेको छ भने केही आउने क्रममा रहेको छन् । ’ उनले भने ।
विभिन्न ठाउँबाट मल नपाएको किसानको गुनासो आइरहेको छ । हामीसँग ६०÷७० हजार टन मौज्दात भएकाले ठूलो हाहाकार भएको अवस्था नरहेको उनले बताए । उनका अनुसार हाल देशभरका विभिन्न क्षेत्रमा मल अभाव देखिएको छ । तर, हाहाकार नै नभएको उनको भनाइ छ ।
अत्यधिक रासायनिक मल प्रयोगले माटोको स्वास्थ्य बिग्रदैं गएकाले कृषकलाई पनि रासायनिक मल भन्दा प्रांगारिक मलको प्रयोगमा बढी बाध्य दिन आवश्यक देखिएको उनको भनाइ छ ।
