ओलीको नेतृत्वविरुद्ध बोल्ने र खोज्ने शीर्षहरूलाई पार्टी छाड्न बस्नेतको धम्की

काठमाडौं – नेकपा एमालेले संविधान दिवस मनाएको छ । संविधान स्थापना भएको १० वर्ष पुगेर ११ वर्षा लागेको अवसरमा एमालेले केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएनन् । जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने नेताहरूमाथि कडा चेतावनी दिएका छन् । उनले ओलीकै नेतृत्वमा एमाले रहने र विकल्प खोज्ने नेताहरुले पार्टीमै रहनुपर्ने कारण नरहेको बताए ।
संविधान दिवस कार्यक्रममा सहभागी भएको बस्नेतले एमालेको ओलीकै नेतृत्वमा रहन्छ । उहाँको विकल्प खोज्ने कोही नेता भए जेनजीमा गए हुन्छ भन्दै धम्कीपुर्ण भाषा बोलेका छन् ।
बस्नेतले भने, ‘अध्यक्ष ओलीकै कारण एमाले आजको अवस्थामा पुगेको हो । जसलाई उहाँको विकल्प चाहिन्छ, उनीहरूले पार्टी छाडेर जानुपर्छ, एमालेभित्र बस्नु पर्दैन । अब ओलीकै नेतृत्वमा एमाले रहन्छ ।’
उनको भनाइलाई ओलीपक्षीय कडापनको संकेतका रूपमा लिइएको छ । पार्टीभित्रै अन्य नेताले नेतृत्वको विकल्पबारे आवाज उठाइरहेका बेला बस्नेतले दिएको चेतावनीले एमालेभित्रको आन्तरिक द्वन्द्व थप सतहमा आएको देखिएको छ ।
संविधान दिवस कार्यक्रममा महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए ।
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन–जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन् ।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।