फेवातालको जग्गा हडपेर बनाइएको संरचनामा डोजर, कर्ण शाक्यको रिसोर्ट समेत पर्यो
पोखराः पोखरा महानगरपालिकाले फेवाताल वरपर अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाउन सुरु गरेपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानैदेखि महानगरले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा तथा अन्य संरचना भत्काउन थालेको थियो ।

संंंरचना भत्किन थालेपछि प्रभावित व्यवसायी र बासिन्दाले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। महानगरका अनुसार बिहानसम्म दुई दर्जनभन्दा बढी अस्थायी संरचना हटाइएको छ।
महानगरपालिकाले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा ताल किनारबाट ६५ मिटरभित्रका संरचना हटाउने अभियान अघि बढाएको जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
सोही क्रममा पर्यटन व्यवसायी कर्ण शाक्य को वाटर फ्रन्ट रिसोर्टमा समेत डोजर लगाइएको छ, जहाँ गेट र स्वीमिङ पुलमा क्षति पुर्याइएको बताइएको छ। मेयर धनराज आचार्य ले अदालतको आदेशलाई “सिम्बोलिक रूपमा कार्यान्वयन” गरिएको बताएका छन्।
यसैबीच स्थानीयले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनसँग जोडिएका संरचना भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। केही दिनअघि प्रधानमन्त्री बालेन शाह ले फेवाताल अतिक्रमण हटाउने प्रगतिको विषयमा चासो देखाएको र संघीय सरकारको प्राथमिकतामा पनि यो विषय परेको बताइएको छ। महानगरले भने ताल संरक्षणका लागि अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।



