विपक्षीको विरोधले स्थगित भयो प्रतिनिधिसभा बैठक
काठमाडौँ । विपक्षी दलहरूको निरन्तर विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अवरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने तथा संसद्को रेकर्डबाट उक्त भनाइ हटाउनुपर्ने माग राख्दै विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूको अवरोधका कारण सदनको नियमित कार्यसूची अघि बढ्न नसकेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए। लगातारको अवरोधका बीच प्रतिनिधिसभाको बैठक कुनै पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसलाई अस्वीकार्य ठहर गरेका छन्। उनीहरूले प्रधानमन्त्रीले संसद्मा आएर आत्मालोचना गर्नुपर्ने र विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका छन्।
यसैबीच, विपक्षी दलहरूको विरोधका कारण राष्ट्रियसभा बैठक पनि प्रभावित भएको छ। मंगलबारको राष्ट्रियसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने मागसहित विरोध जनाएपछि अध्यक्ष नारायण दाहालले बैठक जेठ २८ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सुरु भएको विवादका कारण संघीय संसद्का दुवै सदनको कामकारबाही प्रभावित बनेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



