बीपी राजमार्गमा सास्ती खेप्दै यात्रु, कछुवा गतिमा निर्माण
काठमाडौँ । पूर्वी नेपाललाई राजधानीसँग जोड्ने प्रमुख सडक सञ्जाल बीपी राजमार्ग अहिले यात्रुका लागि राहतभन्दा बढी पीडाको कारण बनेको छ। एकातिर गत वर्षको बाढीले ध्वस्त बनाएको सडकको पुनर्निर्माण सुस्त गतिमा अघि बढिरहेको छ भने अर्कोतर्फ मनसुन सुरु हुनासाथ सडक पुनः जोखिममा परेको छ। यस्तो अवस्थामा अहिले नै यात्रुले सास्ती खेपिरहेका बेला बर्खा पूर्ण रूपमा सक्रिय भएपछि अवस्था झन जटिल बन्ने संकेत देखिएको छ।

मंगलबार काभ्रेको रोशी खोला क्षेत्रमा पानीको बहाव बढेपछि सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएपछि सम्भावित बाढी र पहिरोको जोखिम बढेको हो।
रोशी खोलामा पानीको सतह बढ्दै जाँदा यात्रु र सवारी साधनको सुरक्षाका लागि तत्काल सडक बन्द गर्नुपरेको प्रहरीले जनाएको छ। हाल धुलिखेल, खुर्कोट र नेपालथोकमा सवारी साधन रोकिएको अवस्था छ।
![]() |
![]() |
![]() |
|---|
बीपी राजमार्गको वर्तमान अवस्था हेर्दा यात्रुहरू चिन्तित छन्। गत वर्ष असोजमा आएको विनाशकारी बाढीले करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। त्यसमध्ये झण्डै नौ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो। अहिले विभिन्न प्याकेजमा पुनर्निर्माणको काम भइरहेको भए पनि आठ महिनाभन्दा बढी समय बितिसक्दा समग्र प्रगति करिब २० प्रतिशतमा सीमित छ।
सडक विभागले करिब साढे आठ अर्ब रुपैयाँ लागतमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ। जापान सरकारले दुई अर्ब ६० करोड रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ भने केही जटिल खण्डमा जापानी प्राविधिक टोलीले समेत काम गरिरहेको छ। तर निर्माणको गति अपेक्षाअनुसार नहुँदा सर्वसाधारणले सहज यात्रा कहिले गर्न पाउने भन्ने अन्योल कायमै छ।
बीपी राजमार्ग बन्द हुँदा यात्रुहरू वैकल्पिक रूपमा दोलालघाट–चरिकोट–रामेछाप हुँदै लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य हुन्छन्। यसले यात्रा समय र खर्च दुवै बढाउने गरेको छ। वैकल्पिक सडकहरू साँघुरा र पहिरोको उच्च जोखिम भएका कारण यात्रुले थप दुःख भोग्नुपरेको छ।
Image Source: © https://mulpatra.com
यता, मनसुन भर्खरै सुरु हुँदै गर्दा नै सडक बन्द गर्नुपर्ने अवस्था आएको छ। मौसमविद्हरूले आगामी हप्ताहरूमा वर्षा थप सक्रिय हुने संकेत दिइरहेका छन्। यदि निरन्तर वर्षा भयो भने रोशी क्षेत्रलगायत अन्य संवेदनशील खण्डमा बारम्बार सडक अवरुद्ध हुने सम्भावना छ। यस्तो अवस्थामा निर्माणाधीन सडकमा काम गर्न पनि कठिन हुने भएकाले पुनर्निर्माण प्रक्रिया अझ प्रभावित हुन सक्ने देखिन्छ।
पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बीपी राजमार्गको अवस्था सुधार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने आवाज बढ्न थालेको छ। अन्यथा, बर्खाभर यात्रुहरूले घण्टौँ जाम, जोखिमपूर्ण वैकल्पिक मार्ग र अनिश्चित यात्राको सास्ती खेप्नुपर्ने अवस्था दोहोरिने निश्चितजस्तै देखिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



