सबैतिर विवाद देखिएपछि रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेश अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। पालिका तथा जिल्ला तहका अधिवेशनहरू विवादमा परेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रदेश अधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार जारी गरेको सूचनामा पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ तथा दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै जेठ २८ गतेका लागि तय गरिएको मधेश प्रदेश अधिवेशन स्थगित गरिएको उल्लेख गरेका छन्।
आयोगका अनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत रूपमा सम्पन्न गराउन आवश्यक तयारी र वातावरण सुनिश्चित नभएकाले हाललाई सम्पूर्ण गतिविधि रोकिएको हो। निर्णयसँगै प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशनसँग सम्बन्धित सबै गतिविधि स्थगित भएका छन्।
![]() |
![]() |
![]() |
|---|
यसअघि आयोगले मंगलबारका लागि निर्धारित बारा जिल्ला अधिवेशन पनि स्थगित गरेको थियो। आयोगले प्रदेश अधिवेशनको नयाँ मिति, समय र संशोधित कार्यतालिका पछि सार्वजनिक गरिने जनाएको छ।
मधेश प्रदेशमा रास्वपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रिया सुरुदेखि नै विवादग्रस्त बन्दै आएको छ। पर्सा र सिरहामा अधिवेशनको विषयलाई लिएर कार्यकर्ताबीच झडपसमेत भएको थियो। पर्सामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भए पनि सिरहाको अधिवेशन अझै टुंगो लाग्न सकेको छैन।
मधेशका अन्य जिल्लामा समेत जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले प्रदेश अधिवेशन आयोजना गर्ने वातावरण नबनेको पार्टी स्रोतको भनाइ छ। जिल्लास्तरमै विवाद र असन्तुष्टि बढेपछि अन्ततः केन्द्रीय निर्वाचन आयोगले प्रदेश अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
Image Source: © https://mulpatra.com
आयोगले अर्को निर्णय नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



