महासंघमा राजकुमार कार्की नेतृत्वको सामाजिक सेवा तथा विपद व्यवस्थापन समितिको पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा एवं विपत् तथा दैवी प्रकोप समितिको पत्र हस्तान्तरण तथा बैठक सम्पन्न भएको छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख अतिथि तथा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, एसोसिएट्स तर्फका उपाध्यक्ष प्रबलजंग पाण्डे, कोषाध्यक्ष मनिषलाल प्रधान, सदस्य होमप्रसाद घिमिरे, मानार्थ सदस्य डि.बी बस्नेतको को आतिथ्य रहेको थियो ।

राजकुमार कार्कीको नेतृत्वमा गठन भएको उक्त समितिका सह सभापति महासङ्घकै केन्द्रीय कार्यकारिणी सदस्य विश्वनाथ खनाल रहेका छन् । कार्यक्रममा मानार्थ सदस्यका रुपमा महासघका पूर्व कार्यकारिणी समिति तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतलाई मानार्थ सदस्य समेत प्रदान गरेको छ ।
समितिका बारे बोल्दै सभापति कार्कीले उद्योग व्यवसायीलाई हेर्ने नजर सकारात्मक नरहेकोले समितिले त्यसलाई चिर्ने गरि काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् । व्यवसायीलाई नाफाखोर, बिचौलिया भन्ने भाष्य समाजमा सिर्जना गराइएको दुःखद अवस्थामा त्यसलाई सकारात्मक बनाउन समिति सक्रिय हुने बताए।

सभापति कार्कीले महासंघले विगतका भुकम्प, कोभिड र बाढी पहिरोमा समेत उद्धार, व्यवस्थापन र राहत वितरणमा महत्वपूर्ण काम गरेकाले समितिले विपद व्यवस्थापन कोष स्थापना गरि अघि बढ्ने गरि कार्ययोजना तयार गर्ने बताएका छन् ।
नवगठित समितिलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले सामाजिक सेवा तथा विपद व्यवस्थापन समिति महासंघको मेरुदण्ड रहेको बताएका छन् । उनले समिति महासंघको महत्वपूर्ण समिति रहेको भन्दै कार्कीको कार्यकुशलताको तारिफ गर्दै सफल हुने धारणा व्यक्त गरेका छन् । विपद व्यवस्थापन दुरुस्त राख्न सम्बन्धित विभिन्न संघसंस्थासँग सहकार्यमा समेत जोड दिएका छन् ।
त्यस्तै वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठले विगतमा समेत समितिले सामाजिक सेवा तथा विपद व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै विपद व्यवस्थापन कोषको आवश्यकता र समन्वयको आवश्यकता महत्वहुने बताए ।
Image Source: © https://mulpatra.com
उपाध्यक्ष प्रवलजंग पाण्डेले खासगरि विपदमा समितिको भूमिका महत्वपूर्ण रहने भन्दै र विगतमा महासंघको गरिमा बढाउने काम गरेको र विभिन्न निजी उद्योग तथा कम्पनीहरुसँग संस्थागत सामाजिक उत्तरदायित्व फण्डलाई समितिसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
को को छन् सदस्यहरुमा ?
महासंघको सामाजिक सेवा एवं विपद तथा दैवी प्रकोप समितिका सभापति राजकुमार कार्की तथा उपसभापतिमा विश्वनाथ खनाल रहेका छन् । सदस्यहरुमा नेपाल होस्टेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नरेन्द्रबहादुर बोहोरा, चलचित्र निर्माता सङ्घका उदय सुब्बा, मुद्रण एसोसिएसनका इन्द्र बहादुर महर्जन, ग्यास बिक्रेता महासङ्घका चन्द्र थापा, सौर्य व्यवसाय सङ्घका इन्द्र खनाल रहेका छन् ।
त्यसैगरि पूर्वापनौती उद्योग वाणिज्य सङ्घबाट भोला थापा, ढुवानी व्यवसायी महासङ्घबाट सन्तबहादुर डुम्जन, रासायन तथा मेडिकल आपूर्ति सङ्घबाट उपाध्यक्ष विनोद मानन्धर, डिजिटल कलर एसोसिएसनबाट दिनेश अर्याल, जिरी उद्योग वाणिज्य महासङ्घबाट मधुकमार कार्की, नेपाल अदुवा व्यवसायी सङ्घ सचिव हरि दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल रहेका छन् ।
समितिमा आमन्त्रित सदस्यका रुपमा नेपाल कुचो संघका कोषाध्यक्ष रुष्मा खतिवडा, राफ्टिङ व्यवसायी संघका गंगा प्रसाद नेपाल, रामेछाप उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष आकाश रिजाल, मलंगवा उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र बहादुर शाह, गोर्खा उद्योग बाणिज्य संघका अध्यक्ष भगवान बहादुर मास्के रहेका छन् ।
त्यसैगरि नवलपरासी उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यष नरेन्द्र भण्डारी, दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापा समेत आमन्त्रित सदस्यका रुपमा रहेका छन् ।
समितिमा पुर्व कार्यकारिणी समिति सदस्य अशोक शर्मा, पुर्व कार्यकारिणी समिति सदस्य मनोज अधिकारी र नेपाल रेडक्रस सोसाइटीका विपद व्यवस्थापन विज्ञ भोजराज घिमिरे सल्लाहकार सदस्यका रुपमा रहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
