Close

Recent Posts

नेपाली सेना, एउटै पम्पबाट कमायो ४ अर्ब १

नेपाली सेना, एउटै पम्पबाट कमायो ४ अर्ब १
  • १४ श्रावण २०८१, सोमबार ११:४०

काठमाडौं–ब्यापार र ठेक्कापट्टामा सेनाको सहभागितालाई लिएर प्रश्नहरु उठ्दै आएको परिप्रेक्षमा सेनाले नै सञ्चालन गरेको पेट्रोल पम्प देशकै सबैभन्दा ठूलो कारोबारीमा दह्रिएको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले काठमाडौँको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल स्टेसनले गत आर्थिक वर्ष ०८०÷८१ मा सबैभन्दा बढी कारोबार गरेको छ ।

उक्त पम्पले १ अर्ब ६६ करोड ९६ लाख ६१ हजार ३८९ रुपैयाँको पेट्रोल र डिजेल आयल निगमबाट खरिद गरेको छ। आयल निगमले बेचेको मूल्यका आधारमा यो सूची तयार पारिएको हो । उसले देशभरका डिपोबाट पम्पहरुलाई पेट्रोल र डिजेल उपलब्ध गराउँदै आएको छ । सेनाको यो पम्पले थानकोट स्थित निगमको बागमती प्रादेशिक कार्यालयबाट १ करोड ३ लाख लिटर पेट्रोल र डिजेल खरिद गरेको निगमले जनाएको छ ।

खरिद मूल्यमा पेट्रोलमा ३.४ प्रतिशत र डिजेलमा ३.१ प्रतिशत नाफा राखेर बिक्री मूल्य निर्धारण हुने व्यवस्था छ। यस आधारमा सेनाको पम्पले एक वर्षमा मात्रै करीब ४ अर्ब हाराहारी नाफा आर्जन गरेको देखिन्छ । सेनाले कल्याणकारी कोषको विस्तारका निम्ति यो पम्पलाई राम्रोसँग उपयोग गरिरहेको छ । काठमाडौंका अधिकांश सरकारी कार्यालयले इन्धनको कुपन प्रदान गर्छन् । यस्तो कुपन बोकेर इन्धन भर्नजानेहरु अधिकतर सेनाको यही पम्पमा पुग्ने गरेका छन् । प्रमुख प्रशासनिक केन्द्र सिंह दरबार र अन्य सरकारी अड्डाको नजिक परेका कारण पनि यो पम्पको व्यवसाय विस्तारमा सघाउ पुगेको छ ।

निजी पम्पहरुले विभिन्न बहानामा बेलाबखत इन्धन आपूर्ति बन्द गर्दा समेत सेना र प्रहरीले सञ्चालन गरेका पम्पहरुमा पेट्रोलियम पदार्थ उपलब्ध हुन्छ । यस कारण पनि सेनाको पम्पमा इन्धन भर्नेको लाइन बाक्लो देखिने गरेको छ । जसको लाभ पम्पलाई भइरहेको छ । आजभन्दा ५ वर्षअघि पनि देशकै सर्वाधिक इन्धन बिक्री गर्ने पम्पको सूचीमा रिपुमर्दिनी नै पहिलो नम्बरमा थियो। त्यसयता भने बाराको पथलैयास्थित नेपाल प्रहरीले सञ्चालन गर्दै आएको पम्पले सर्वाधिक इन्धन बेच्दै आएको थियो । गत आर्थिक वर्ष ०७९÷८० मा चाहीँ धादिङबेशीमा रहेको भैरवी इन्टरप्राइजेज शीर्षस्थानमा आएको थियो ।

धादिङ सदरमुकामको पुछार बजारमा रहेको भैरवीले धादिङका साथै गोरखाको उत्तर पूर्वी भागमा पुग्ने सवारीसाधनमा पनि पेट्रोलिम पदार्थ भर्ने काम गर्छ । ठूलो बजारमा एकाधिकार पाएकाले यो पम्पको ब्यापार राम्रो छ । उसले गत साल १ अर्ब ७९ करोडको इन्धन किनेर बेचेको थियो । गत आर्थिक वर्षमा भने यो पम्प तेस्रो स्थानमा रहेको छ।

पछिल्लो आर्थिक वर्षमा धेरै तेल बिक्री गर्ने पम्पको सूचीमा चितवनका पम्पहरु परेका छन् । नारायणगढस्थित कैलाश आयल सूचीको दोस्रो स्थानमा छ। उक्त पम्पले १ अर्ब ५७ करोड ६८ लाख ८८ हजार ९३० रुपैयाँको इन्धन निगमको अमलेखगन्ज डिपोबाट खरिद गरेको थियो। यो सालका निम्ति निजी क्षेत्रबाट सञ्चालित देशभरमै सबैभन्दा बढी इन्धन बिक्री गर्ने पम्प नै कैलाश आयल बनेको छ । चितवनकै साझा पेट्रोल पम्प पनि शीर्षस्थ कारोबार गर्ने सूचीमा आठौँ स्थानमा छ ।

विगतका वर्षमा सबैभन्दा ठूलो कारोबार गर्दै आएको बाराको पथलैया चोक स्थित नेपाल प्रहरीको कल्याण कोषले सञ्चालन गरेको पम्प भने गत आर्थिक वर्षमा चौँथो स्थानमा पुगेको छ । यो पम्पले कुल १ अर्ब ५१ करोड ३९ लाख ६६ हजार २ सय ९७ रुपैयाँको इन्धन किनेर बेचेको थियो । नेपाल–भारतबीच हुने ब्यापारको ढुवानीमा प्रयोग हुने मालबाहक कन्टेनर र ठूला ट्रकमा इन्धन भर्ने गरेको यो पम्पको कारोबारले पनि दुई देशबीचको ब्यापार खुम्चिएको तथ्य प्रमाणित गर्छ ।

तर पेट्रोलियम व्यवसायीले भने मालबाहक सवारीको ओहोरदोहोर घटेका कारणले मात्रै कारोबार खुम्चिएको तर्कलाई अस्वीकार गर्दै आएका छन् । उनीहरुका अनुसार विगतका केही महिनामा नेपालमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो परेका कारण यसो भएको हो । रुसी तेल ल्याएर बेच्दा भारतमा इन्धनको मूल्य सस्तिएको र त्यसै कारण मालवाहक गाडी तथा कन्टेनरले उतै इन्धन भरेर आउन थालेको व्यवसायी बताउँछन् ।