Close

Recent Posts

वैदेशिक रोजगार बचतपत्रः ९५ प्रतिशत रेमिट्यान्स पठाउने कामदारले रुचाएनन्

वैदेशिक रोजगार बचतपत्रः ९५ प्रतिशत रेमिट्यान्स पठाउने कामदारले रुचाएनन्
  • १७ श्रावण २०८१, बिहीबार ०४:३८

काठमाडौं– राष्ट्र बैंकले आर्थिक वर्ष २०६६÷६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्कासन गर्न थालेको थियो । वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न थालेको डेढ दशकसम्म पनि यस योजनाप्रति विदेशमा कार्यरत कामदारको आकर्षण देखिन ।

वैदेशिक रोजगार बचतपत्र खरिदका लागि वैदेशिक रोजगारीमै कार्यरत कामदारको चासो नदेखिएपछि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा वैदेशिक रोजगारीमा कार्यरत ९५ प्रतिशत कामदारले वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो नदेखाएको बताइएको छ । विदेशमा कार्यरत कामदारले वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो नदिएपछि राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा वैदेशिक रोजगार बचतपत्र खरिदकर्तालाई व्याज दिने व्यवस्था, रोजगारदाता देश र विदेश जानुअघि यस विषयमा सूचित गराउन भएको छ ।

विदेशमा कार्यरत कामदार मात्र होइन। विदेशमा बसोबास गर्दै आएका अन्य नेपालीहरुले पनि वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो नदिएको राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
१३ वर्षको अवधिमा राष्ट्र बैंकले २५ पटक बचतपत्र आव्हान गर्दा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको थियो । तर यस अवधिमा आव्हान गरिएको बचतपत्र ४.९० प्रतिशत अर्थात् ७६ करोड २३ लाख रुपैयाँ मात्र बिक्री भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ । यस अवधिमा राष्ट्र बैंकले साढे एक खर्ब रुपैयाँ बराबारको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राखेको थियो ।

बैंकले आव्हान गरेकोमध्ये ९५ प्रतिशतभन्दा बढी बचतपत्र बिक्री नभएको हालै सार्वजनिक गरेको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय प्रतिवेदन उल्लेख छ । यी सबै कामदारको रेमिट्यान्समा योगदान भएपनि बचतपत्रको योजनामा चासो नदिएको बैंकको प्रतिवदेनमा भनिएको छ ।

आर्थिक वर्ष २०६६÷६७ देखि २०७९÷८० सम्म आव्हान रकमको ४.९ प्रतिशतमात्र बिक्री भएका छन् । निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रको अवधि ५ वर्ष हुन्छ। त्यसपछि राष्ट्र बैंकले साँवा–व्याज हिसाव गरेर बचतपत्रको रकम फिर्ता दिने गरेको छ । देशबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने गरि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको अवधारण ल्याएको थियो । तर यस योजनामा वैदेशिक रोजगारीमा कार्यरत कामदारले नै चासो नदेखाएको राष्ट्र बैंकका प्रवक्ता डा.रामु पौडेल स्वीकार्छन् ।

केन्द्रिय बैंकले बचतपत्र बिक्रीका लागि आव्हान गरेको गरेको थियो। तर, बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित नभएको प्रवक्ता पौडेलले बताए । ‘राष्ट्र बैंकले आव्हान गरेको ९५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगार बचतपत्र बिक्री भएन। यस योजनामा रेमिट्यान्स पठाउने कामदारले नै रुची देखाएनन् । त्यही भएर यस बचतपत्रका लागि नयाँ योजना ल्याइएको छ ।’ उनले भने।
वैदेशिक रोजगार बचतपत्रमा रेमिट्यान्स पठाउने कामदारकै रुची बढाउने गरी योजना ल्याइएको उनको दाबी छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०६६÷६७ देखि पहिलो वर्ष १ अर्बकोबचतपत्र आव्हान थियो। त्यसमध्ये ४० लाख बिक्री भएको बैंकको तथ्यांकमा छ । यस्तै दोस्रो वर्ष ५ अर्ब निष्काशन आव्हान भएकोमा ३३ लाख मात्र बिक्री भएको देखिन्छ । त्यसपछिका बर्षहरुमा आव्हान ५० करोड भन्दा कम भएको बैंकको तथ्यांकमा छ । गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतीत नभएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । तर यस्ता परिवारले समेत यस कार्यक्रममा चासो नदिएको बैंकको प्रतिवेदनमा भनिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०५२ सालयता ५५ लाख २६ हजार नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा १ सय ७७ देशमा पुगेका छन् । तीमध्ये हाल ३५ हाल नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ ।

विदेशमा कार्यरतमध्ये ९५ प्रतिशत नेपाली कामदारले वैदेशिक रोजगारी बचतपत्र खरिद नगर्नुको मुख्य कारण सूचनाको अभाव भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजाल बताउँछन् । उनका अनुसार वैदेशिक रोजगार बचतपत्र सरकारले ल्याएको राम्रो योजना भएपनि सूचनाको अभावमा यसको बिक्री भएन। अहिले राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि नयाँ योजना अघि सारेको छ। यसमा सबै कामदारलाई सूचित गराउने विषयलाई महत्वमा राखिएको उनको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारलाई विद्युतीय माध्यममार्फत तीव्रता दिइएको छ । बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गर्ने निर्णय गरेपछि रष्ट्रिय दैनिक पत्रिकाको अतिरिक्त बैंक तथा बिक्री एजेण्ट, गैर आवासीय नेपाली नागरिक, संघ संगठन, विदेश स्थित कुटनीतिक नियोगहरुको वेबसाइटमा सूचना प्रकाशन गर्न थालेको छ । साथै, बचतपत्रको परिचय र खरिद–बिक्री प्रक्रिया लगायतको विवरण समावेश पुस्तिका राष्ट्र बैंकबाट प्रकाशन तथा वितरण गर्नुका साथै वेबपेजमा समेत राखिएको छ ।