मन्त्रीपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अन्योलमा

काठमाडौं । आज बस्ने भनिएको मन्त्रीपरिषद् बैठक स्थगित भएको छ। यस बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको निर्णय हुने अपेक्षा गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्चो नभएर बैठक बस्न नसकेको सचिवालयले जनाए पनि उनलाई साधारण रुघा लागेको बताइएको छ ।
यो बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति प्रक्रियालाई लिएर सत्तारुढ दलभित्र मनमुटाव बढेको स्पष्ट देखिन्छ ।
सत्तारूढ दल नेपाली कांग्रेसको सिफारिसमा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले वैशाख ५ गते गभर्नर बन्ने आशामा पदबाट राजीनामा दिएका थिए। तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उक्त राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी छन्। गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा प्रक्रिया अवरुद् भएको थियो यसले गर्दा ढुंगानाको आलोचना समेत भएको छ ।
भट्टको गभर्नर नियुक्तिमा कानुनी अड्चन नरहेको बताइए पनि, उनीभन्दा वरिष्ठ डेपुटी गभर्नरहरूलाई उछिनेरे नियुक्ति हुनुले संस्थागत नैतिकता र मनोबलमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।
त्यसपछि गभर्नर सिफारीस समितिमा रहेका विश्व पौडेललाई गभर्नर बनाउने सहमति पछि उनले पनि समितिबाट राजिनामा गरेका थिए । तर आजको मन्त्रीपरिषद बैठक स्थगीत भएपछि उनको नियुक्ती पनि अन्यौलमा परेको छ । राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाई हुँदा सरकारमाथि आलोचना भइरहेको छ । सहमति भयो भनेका विषयमा समेत बैठक बसी निर्णय गर्न नसक्दा सत्तारुढ दल बिच असमजदारी बढेको आंकलन गरिएको छ ।
गभर्नर नियुक्ति प्रक्रिया राजनीतिक सहमति, कानुनी स्पष्टता र संस्थागत नैतिकताको सन्तुलनमा निर्भर देखिन्छ। सरकारले चाँडै स्पष्ट निर्णय नगरेमा राष्ट्र बैंकको नेतृत्वविहीन अवस्था अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ।