आजै गभर्नर नियुक्त हुने सम्भावना बलियो, सिफारिस समिति र मन्त्रिपरिषद दुवै बैठक बस्दै

काठमाडौं – लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा आजै नियुक्ति हुने सम्भावना बलियो बनेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ४ बजेका लागि गभर्नर सिफारिस समिति बैठक आह्वान गरेसँगै, साँझ ५:३० बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको छ।
चैत २४ गतेदेखि रिक्त रहेको गभर्नर पदमा कायममुकायमका रूपमा डेपुटी गभर्नर नीलम ढुंगाना कार्यरत छन्। स्थायी गभर्नर नियुक्त गर्न अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिको यो पहिलो बैठक हो। समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहेका छन्।
आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा महत्वपूर्ण भेटवार्ता भएको थियो। सोही छलफलपछि सिफारिस समिति बैठक डाकिएको हो।
सभापति देउवाले गभर्नरका लागि प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्। यद्यपि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषदले तीमध्ये एकजनालाई गभर्नर नियुक्त गर्नेछ।
हिजो सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। आज ५:३० बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएपछि सिफारिस समितिको निर्णयसँगै गभर्नर नियुक्ति आजै टुंगिन सक्ने राजनीतिक संकेत देखिएको छ।
सरकारको उच्च तहमा छलफल र तयारी तीव्र भइरहेको सन्दर्भमा आजको दिन नेपाल राष्ट्र बैंकको नेतृत्व पुनःस्थापनाको दृष्टिले निर्णायक बन्ने देखिएको छ।