देशभित्रै सम्भावना छ,सबै मिलेर खोजी गरौंः अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरू अघि बढाइएको बताएका छन् ।
उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजी गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गरे ।
बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले मान्छेले अन्तरिक्षमा सम्भावना खोजीरहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरू किन खोजी किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन ।’
नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ । फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न भइरहेको पौडेल बताउँछन् ।
उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे ।
प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताए । यस्तै मिडिया इन्टरनेसनलको यस कार्यक्रमले देशभित्र सम्भावना, उद्यमीशिलताको खोजी गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यस्तै उनले जनशक्तिलाई देशभित्र अड्याएर देशलाई विकासको गतिमा अगाडि बढाउनुपर्ने बताए । यसमा सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेपालीहरुको निष्ठा, श्रमशिलता विश्वमै अनुकरणीय रहेको भन्दै मन्त्री पौडेलले श्रमशक्ति, लगनशिल जनशक्तिलाई प्रयोग र प्राकृतिक स्रोत, साधनको परिचालन गरी देशलाई विकास गर्ने मुख्य मुद्दा रहेको बताए ।
उनले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उनले उल्लेख गरे ।
उनले भने, ‘जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो धनी देश भन्छौं । हिमनदीहरु छन् । तर पछिल्लो समय हिमाल पग्लिदै गरेको र हिमनदीहरु सुक्दै गएको छन् यो एउटा चिन्ताको विषय हो । तर पनि हामी जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो ठूलो हौं । हामीसँग ५० वर्षको आन्तिरक आवश्यक्ता पूरा गर्न सक्ने धेरै चिजहरु छन् ।’
यस्तै युवालाई कसरी देशभित्र रोक्ने र परिचालन खोजी गर्ने गरी बजेट आएको उनले बताए । उनले भने, ‘उद्याशीलताको विषयमा केन्द्रित गर्ने बजेटले आएको छ । अब हामी स्टाटप, आइटी, उद्यमीशिलतको विषय आएको छ। यसले देशभित्र भविष्य खोज्ने छ ।’