लामो रस्साकस्सीपछि तयार संघीय निजामती सेवा विधेयक सदनमा प्रस्तुत हुँदै
काठमाडौं । संघीय निजामती सेवा विधेयक लामो समयदेखि मस्यौदा चरणमै अड्किरहेपछि बल्ल प्रतिनिधिसभामा पेश हुने भएको छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। विधेयकलाई मंगलबार छलफलपछि पारित गरिने तयारी गरिएको छ।

विधेयक ढिलो हुनुका पछाडि राजनीतिक, प्राविधिक र प्रशासनिक जटिलता रहेकाले पटक–पटक प्रक्रिया अघि बढ्न सकेको थिएन। कर्मचारी युनियन र संघ–संस्थाबीचको असहमति, पदपूर्तिमा समान अवसरको सुनिश्चितता, पदोन्नति र सरुवाका मापदण्ड, कूलिङ पिरियड जस्ता विषयमा उत्पन्न विवादका कारण विधेयक समितिमा रोकिएको थियो। यसैगरी, सांसदहरूले ठूलो संख्यामा संशोधन प्रस्ताव गरेकाले छलफल थप जटिल भएको थियो।
यसबाहेक, राजनीतिक प्राथमिकताको अभाव, संसदीय कार्यशैलीको सुस्तता र समितिमा बारम्बार कोरम नपुगेर स्थगन हुँदै आएको कारण विधेयक अघि बढ्न सकेको थिएन। स्थानीय तह र प्रदेश सरकारसँगको समन्वय अभावले समेत प्रक्रियामा ढिलाइ भएको थियो। तर पछिल्लो समय समितिमा व्यापक छलफलपछि केही विवादित प्रावधानहरूमा सहमति जुटाइए पछि अन्नत सदनमा प्रस्तुत हुन लागेको छ ।
![]() |
![]() |
![]() |
|---|
राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते विधेयक सर्वसम्मत रूपमा पारित गरेसँगै आज प्रतिनिधिसभामा प्रस्तुत हुन लागेको हो। लामो समयदेखि प्रतिक्षामा रहेको संघीय निजामती सेवा विधेयक पारित भएसँगै संघीय निजामती संरचनामा कानुनी स्पष्टता आउने र कर्मचारी व्यवस्थापनमा स्थायित्व कायम हुने अपेक्षा गरिएको छ।



