घर किन्न मूल्याङ्कनको ८० प्रतिशत ऋण, तीन करोडसम्म कर्जा
काठमाडौं– नेपाल राष्ट्र बैंकले आवासीय कर्जासम्बन्धी एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै पहिलोपटक घर किन्नेहरूलाई लक्षित गरी केही नीतिगत सहजीकरण गरिदिएको छ ।

घरको मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ, जुन हालसम्म ७० प्रतिशतमा सीमित थियो । अब पहिलो पटक आवासीय प्रयोजनका लागि घर किन्नेहरूले मूल्यांकनको ८० प्रतिशतसम्म बैंकबाट कर्जा पाउने भएका हुन् ।
यो कर्जा योजना अन्तर्गत एक व्यक्तिले अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ । हालसम्मको सीमा २ करोड रुपैयाँ मात्र थियो ।
घरभाडा आम्दानीलाई कर्जा प्राप्त गर्न आयको स्रोतका रूपमा देखाउन नपाइने राष्ट्र बैंकको नयाँ निर्देशिकामा स्पष्ट गरिएको छ । कर्जाको ब्याजदर बढेमा पनि मासिक किस्ता यथावत् राखेर कर्जा भुक्तानीको व्यवस्था मिलाउनु पर्ने प्रावधान राखिएको छ ।
यसले अब आफ्नै घर बनाउने वा किन्न चाहने हजारौं नेपालीहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । खासगरी पहिलो पटक घर किन्नेहरूको लागि त यो सपना पूरा गर्नु त्यति सजिलो हुँदैन । महँगो मूल्य, कर्जा पाउने झन्झट र आम्दानीको अभावले गर्दा थुप्रै नेपालीहरू आफ्नो घरको सपना मनमै थाँती राख्न बाध्य थिए ।
यता रियलस्टेट कर्जासँग सम्बन्धित लोन टु भ्यालु अनुपात भने अझै कडाइ गरिएको छ । यस्तो खालको कर्जाका लागि मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र ऋण दिन पाइनेछ ।
यद्यपि, नेपाल सरकारबाट अनुमति प्राप्त र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका घर निर्माण कम्पनीका परियोजनाहरूलाई भने यो सीमा ७० प्रतिशतसम्म कायम गर्न पाइनेछ । यसअघि यो सीमा ६० प्रतिशतमा सीमित थियो ।
