फ्रान्सले गर्यो प्यालेष्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने घोषणा

काठमाडौं । इजरायलको लगातारको आक्रमणमा हजारौंले ज्यान गुमाइरहेको र भोकमरीबाट मरिरहेको गाजाका विषयलाई लिएर फ्रेन्च राष्ट्रपति एमानुएल म्याक्रोँले फ्रान्सले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन् ।
म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्ए ‘गाजाको युद्ध रोक्नु र सर्वसाधारण जनसंख्यालाई बचाउनु अहिलेको अत्यावश्यक कुरा हो।’ उनले यो निर्णय आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा औपचारिक रूपमा सार्वजनिक गर्ने बताएका छन् ।
फ्रेन्च राष्ट्रपति म्याक्रोँले सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएका आक्रमणपछिको समयमा इजरायललाई समर्थन जनाएका थिए । तर हालैका महिनाहरूमा गाजामा इजरायलले सञ्चालन गरिरहेको युद्धप्रति उनी थप असन्तुष्ट हुँदै गएका छन्।
उनले लेखेका छन् ‘मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्तिप्रतिको फ्रान्सको ऐतिहासिक प्रतिबद्धतालाई ध्यानमा राख्दै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनेछ, र शान्ति सम्भव छ’
१९८८ मै प्यालेस्टाइनले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा घोषणा गरिसकेको छ । यासिर अराफातले अल्जेरियामा एकपक्षीय रूपमा स्वतन्त्र राज्य घोषणा गरेका थिए । त्यसपछि स्टेट अफ प्यालेष्टाइन को रूपमा काम गर्दै आएको छ। दुई प्रसासनिक भागमा बाँडिएको प्यालेष्टानमा वेष्ट बैंक र गाजा स्ट्रिप पर्छ । हमासको नियन्त्रणमा रहेको भनेर इजरायलले अहिले पनि गोलाबारी गरिरहेको छ । जहाँ हजारौं शरणार्थीका रुपमा बस्न वाध्य पारिएका छन । भने भोकमरीले सयौं बालबच्चाको मृत्य भइसकेको छ ।
यस्तो अवस्थामा फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने सबैभन्दा ठूलो र शक्तिशाली युरोपेली देश बनेको छ। संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रमध्ये कम्तीमा १४२ राष्ट्रहरूले प्यालेस्टाइनलाई पहिले नै मान्यता दिइसकेका छन् तर इजरायल र संयुक्त राज्य अमेरिका भने यस्तो मान्यताको कडा विरोधमा छन्।
। पछिल्लो समय फ्रान्सको सो घोषणाले प्यालेष्टाइनले स्वतन्त्र राष्ट्रको मान्यता पाउन बल पुगेको छ ।