नेपाल पर्वतारोहण संघमा सत्ताघटक पराजित, फुर गेल्जे शेर्पा अध्यक्ष निर्वाचित
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा सत्ता गठबन्धनको समर्थन पाएको समूह पराजित भएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार फुर गेल्जे शेर्पा अध्यक्षमा निर्वाचित हुँदै सत्ताघटक निकट कुलबहादुर गुरुङलाई हराएका हुन् ।

अध्यक्षमा शेर्पाले ३४२ मत प्राप्त गर्दा गुरुङले २८८ मतमा सीमित भए । सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा पनि शेर्पा नेतृत्वको समूह विजयी भएको छ । ईश्वरी पौडेलले ३४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मतसहित काजी शेर्पालाई पराजित गरे भने द्वितीय उपाध्यक्षमा बोधराज भण्डारीले ३६८ मतसहित धनबहादुर गुरुङलाई हराए ।
महासचिवमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी विमल नहर्कीले २०९ र शिव सापकोटाले ६८ मत पाए । सचिवमा चन्दन थापाले ३५८ मत ल्याउँदै विजयी भए भने प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।
कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच बराबरी ३०४(३०४ मत आएको छ । सहमति अनुसार उनीहरूले कार्यकाल आधा(आधा बाँडेर सञ्चालन गर्ने भएका छन् ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे निर्वाचित भएका छन् ।
अध्यक्षदेखि महासचिवसम्म अधिकांश पदमा फुर शेर्पा नेतृत्वको टिम विजयी भएपछि नेपाल पर्वतारोहण संघमा सत्ता गठबन्धनको पकड कमजोर बनेको छ ।
