Close

Recent Posts

हिन्दु नारीहरूको पर्व तीज, देशभरका शिवालयमा महिलाहरूको घुइँचो

हिन्दु नारीहरूको पर्व तीज, देशभरका शिवालयमा महिलाहरूको घुइँचो
  • १० भाद्र २०८२, मंगलवार १०:२४

काठमाडौँ। हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज श्रद्धा, भक्ति र उल्लासका साथ देशभर मनाइँदै छ। भगवान् महादेवको पूजा–आराधना गर्दै निराहार वा फलाहार व्रत बस्ने परम्परा यस पर्वसँग सम्बन्धित छ।

mulpatra

आजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालयहरूमा बिहानैदेखि महिलाहरूको घुइँचो लागेको छ। भक्तजनलाई सहज दर्शनका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। विशेषगरी महिलाहरू रातिदेखि नै लाम लागेर भगवान् शिव–पार्वतीको दर्शन पूजाआराधनामा तल्लीन भएका छन्।

धार्मिक विश्वासअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले कठोर तपस्या गरी महादेवलाई पति स्वरूप प्राप्त गरेकी थिइन्। यही दिन पार्वतीलाई उनका सखीहरूले हरण गरी लुकाएको स्मरणमा “हरित” (हरण) र “आलिका” (सखी) शब्द मिलेर “हरितालिका” नामकरण भएको धार्मिक शास्त्रमा उल्लेख छ।

तीज पर्वमा विवाहित महिलाले पतिको दीर्घायुका लागि र अविवाहित महिलाले सुयोग्य वरको प्राप्तिका लागि व्रत बस्ने परम्परा रहेको छ। यद्यपि धार्मिक ग्रन्थअनुसार पुरुषहरूले समेत यो व्रत लिन सक्ने उल्लेख पाइन्छ।

यस दिन निराहार व्रत गर्ने चलन भए पनि स्वास्थ्यलाई ध्यानमा राख्दै फलाहार वा जलाहार गरेर पनि व्रत बस्न सकिन्छ। स्कन्धपुराणअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख गरिएको छ।

पशुपतिनाथ क्षेत्रमा तीज पर्वको अवसरमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। महिलाहरू नाचगान, भजनकीर्तन र शिव–पार्वतीको पूजा आराधनामा सहभागी हुँदै वातावरणलाई उल्लासमय बनाएका छन्।