जीएसआईलाई समर्थन गर्‍यो भनेर विरोधीले हल्ला गराएः ओली

जीएसआईलाई समर्थन गर्‍यो भनेर विरोधीले हल्ला गराएः ओली
  • २० भाद्र २०८२, शुक्रबार १४:११

काठमाडौं । ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा बोल्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चीनले प्रस्ताव गरेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन नजनाएको बताए ।

mulpatra

उद्घाटनसत्रमा बोल्दै ओलीले जीएसआईमा समर्थन गरेको भनेर विरोधीले हल्ला मात्र चलाएको आरोप लगाए ।
चीन भ्रमणका क्रममा आफुले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लिपुलेकको विषयमा प्रश्न उठाएको बताए । उनले भने, ‘लिपुलेकको विषय सीसँग उठाएको छु, यो रेकर्डमा छ, भिडियोमा छ, नोटमा छ ।’

ओलीले भने, ‘जीएसआईलाई समर्थन गर्‍यो भनेर हल्ला गराए तर हामीले केही बोलेका छैनौँ । राष्ट्रवादी भनिएकालाई दिने जवाफ छ । देशले सुन्नेगरी विदेशले सुन्ने गरी भन्छु, ‘देशको हित र पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र विश्व न्यायविरुद्ध क्रियाकलाप र वचन वा चिन्ता पनि राख्दैनौँ ।’

यता ओलीको चीन भ्रमणको भोलीपल्टै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई नेपालले समर्थन गरेको समाचार व्याप्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता भएपश्चात चीनले जारी गरेको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको दाबी गरिएको थियो ।
तर त्यसको भोलीपल्ट परराष्ट्र सचिव अमृत राईले जीएसआई मा समर्थन नगरेको जनाएका थिए ।