नेपालको जेनजी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा

काठमाडौँ– नेपालमा भइरहेको जेनजी आन्दोलनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरिरहेका छन् । इण्डिया टुडेले आन्दोलनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु र ८० जना घाइते भएको उल्लेख गरेको छ । नेपाल सरकारले ४ सेप्टेम्बरमा २६ वटा मुख्य सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएपछि नागरिकमा आक्रोशमा बढेको उल्लेख गरेको छ ।
भरतीय अनलाइन न्युज पोर्टल इण्डिया टुडेले नेपालमा जेनजीले ठुलो प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । बीबीसीले नेपाल सरकारले २६ वटा प्रमुख सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताका युवाले देशव्यापी प्रदर्शन गरेको समाचार प्रकाशन गरेको छ । प्रदर्शनमा अधिकांश स्कुल र कलेजका विद्यार्थी सहभागी भएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीहरुले नेपालको राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउँदै संसद् भवन प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको जनाएको छ ।
अर्को भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा जेनजी पुस्ता सरकारविरुद्ध सडकमा आएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु संसद् भवन परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ । आजतकले नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा आवाज उठेको भन्दै प्रदर्शन नियन्त्रणका लागि सरकारले कफ्र्यु आदेश जारी गरेको समाचार प्रकाशन गरेको छ ।
नवभारतटाइम्सले ‘फेसबुक, इन्स्टाग्राम बन्दविरुद्ध नेपालमा जेनजीको प्रदर्शन, कफ्र्यु लगाएपछि पनि संसद् परिसरमा प्रवेश गरे प्रदर्शनकारी’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । नेपालका जेनजीले सोमबारको प्रदर्शनलाई ‘जेनजी रिभोल्युसन’ नाम दिएको नवभारतटाइम्सले उल्लेख गरेको छ ।
टाइम्स इण्डियाले पनि नेपालमा जेनजीको प्रदर्शनलाई मुख्य समाचार बनाएको छ । ‘फेसबुक, युट्युब, एक्स ब्यान्ड नेपाल ः जेनजीज टेकओभर काठमाण्डु स्ट्रिट्स’ शीर्षकमा समाचार बनाएको छ । टाइम्स अफ इण्डियाले ठुलो संख्यामा नेपालको राजधानी काठमाडौँ लगायत प्रमुख सहरहरुमा जेनजी युवाले सरकारविरुद्ध प्रदर्शन गरेको उल्लेख छ । राष्ट्रिय झण्डा लिएर राष्ट्रगान गाउँदै उनीहरुले प्रदर्शन गरेको समाचारमा छ ।
भ्रष्टाचार र समाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा नेपालका जेनजी पुस्ताले देशव्यापी प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको जेनजी आन्दोलनको समाचारलाई प्राथमिकता दिइरहेका छन् ।
राजधानी काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत प्रमुख सहर र अन्य स्थानमा पनि उनीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका केही स्थानमा कफ्र्यु आदेश समेत जारी गरेको छ भने अन्य केही सहरमा निषेधाज्ञा लगाएको छ ।