नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको ब्रह्मचारिणी स्वरुपको पूजा

काठमाडौं । आज देवी उपासनासहितको महानवमी पर्वअन्तर्गत ब्रह्मचारिणी देवीको पूजाअर्चना गरी नवरात्रको दोस्रो दिन मनाइन्छ ।
हिन्दु परम्परा अनुसार, नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी शान्ति, तपस्या र संयमको प्रतीक मानिन्छ। ऋग्वेद र देवीभागवतजस्ता ग्रन्थमा वर्णन भएअनुसार ब्रह्मचारिणीले तपस्याद्वारा भगवान् महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। ब्रह्मचारी व्रत धारण गरी साधनामा अडिग रहने शक्ति भएकाले भक्तजनले आजको दिन संयम, श्रद्धा र आत्मअनुशासनको व्रत लिने प्रथा रहेको पाइन्छ ।
पुरोहित एवम् धर्मशास्त्रविद्हरूका अनुसार ब्रह्मचारिणीको पूजा गर्दा तपस्या, धैर्य, शील र विद्या प्राप्त हुने विश्वास गरिन्छ। यस दिन व्रत बस्ने, सात्त्विक आहार ग्रहण गर्ने र देवी स्तोत्रको पाठ गर्ने चलन छ।
नवरात्रभर नवदुर्गाका नौ विभिन्न रूपहरूको आराधना गर्ने परम्परा छ। हिजो पहिलो दिन शैलपुत्रीको पूजा गरिएको थियो भने आज दोस्रो दिन ब्रह्मचारिणीको आराधना भइरहेको छ। भोलि तृतीयामा चन्द्रघण्टा देवीको पूजा गरिनेछ।
देशभरका देवी मन्दिरहरूमा गएर देवीको पुजा आराधना गर्न सकिन्छ । काठमाडौंको देवी शक्ति पीठका रुपमा रहेका प्रमुख ठाउँहरु गुःह्येश्वरी, नक्साल भगवती, ब्रजबाराही, दक्षिणकालि, बंगलामुखि, संकटा, धुम्बाराही, मैतिदेवीलगायतका स्थानमा विशेष पूजापाठ गरि ब्रम्हचारिणी देवीको पुजा आराधना गर्न सकिनेछ ।