दशैं मनाउन तीन दिनमै उपत्यकाबाट बाहिरिए डेढ लाख यात्रु

दशैं मनाउन तीन दिनमै उपत्यकाबाट बाहिरिए डेढ लाख यात्रु
  • ९ आश्विन २०८२, बिहीबार १७:१८

काठमाडौं– घटस्थापनादेखिको तीन दिनमा मात्रै झन्डै डेढ लाख यात्रु काठमाडौं उपत्यका छाडेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका असोज ६ गतेदेखि ८ गतेसम्म कुल १ लाख ३८ हजार बढी यात्रु काठमाडौं उपत्यका छाडेका हुन् ।

mulpatra

दसैं मनाउन राजधानी छाड्ने यात्रुको संख्या दैनिक रूपमा बढिरहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । अध्ययन, रोजगारी तथा व्यवसायका लागि उपत्यकामा बस्दै आएका नागरिकहरू दसैं मनाउन आ–आफ्नो घर फर्किन थालेका हुन् ।

कार्यालयका अनुसार असोज ६, ७ र ८ गते क्रमशः ४० हजार ९२३, ३९ हजार ८१४ र ५७ हजार ५५९ यात्रु थानकोट, साँगा, बालाजु र दक्षिणकाली नाकाबाट बाहिरिएका हुन् ।

गोँगबुस्थित नयाँ बसपार्कबाट अहिले दैनिक ५०० बस छुट्न थालेको लोत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ । सामान्यतया दैनिक २५० जति बस छुट्ने गरेकामा अहिले यात्रुको चापका कारण दोब्बर बस छुटिरहेका छन् ।

दसैं यात्रालाई सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघ–संस्थाको सहकार्यमा काठमाडौंका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।