Close

Recent Posts

इलाम पहिरोः १८ जनाको मृत्यु

इलाम पहिरोः १८ जनाको मृत्यु
  • १९ आश्विन २०८२, आईतवार १०:०१

इलाम । लगातारको अविरल वर्षाले इलाममा भीषण पहिरो उत्पन्न हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार विभिन्न स्थानीय तहमा गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

mulpatra

जिल्लाका विभिन्न ६ स्थानमा गएको पहिरोका कारण १८ जनाको मृत्यु भएको पुष्टि भएको हो।

सबैभन्दा ठूलो मानवीय क्षति इलाम नगरपालिका–६ घोसगाउँमा भएको छ, जहाँ एकै परिवारका ६ जनाको घरसहित पहिरोमा पुरिएर ज्यान गएको छ। त्यसैगरी, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ।

माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको मृत्यु भएको र देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसेनीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माङसेवुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् र उनीहरू उद्धारको प्रतीक्षामा छन्। कठिन भूगोल र अविरल वर्षाका कारण उद्धार र तथ्यांक संकलनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन र बासिन्दाहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्। जिल्ला प्रहरीका अनुसार अझै पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ, जसले बेपत्ता हुनेको संख्या थपिन सक्ने अनुमान गरिएको छ।

लगातारको वर्षाका कारण इलामका धेरै ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।