इलाम पहिरोः १८ जनाको मृत्यु

इलाम पहिरोः १८ जनाको मृत्यु
  • १९ आश्विन २०८२, आईतवार १०:०१

इलाम । लगातारको अविरल वर्षाले इलाममा भीषण पहिरो उत्पन्न हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार विभिन्न स्थानीय तहमा गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

mulpatra

जिल्लाका विभिन्न ६ स्थानमा गएको पहिरोका कारण १८ जनाको मृत्यु भएको पुष्टि भएको हो।

सबैभन्दा ठूलो मानवीय क्षति इलाम नगरपालिका–६ घोसगाउँमा भएको छ, जहाँ एकै परिवारका ६ जनाको घरसहित पहिरोमा पुरिएर ज्यान गएको छ। त्यसैगरी, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ।

mulpatra mulpatra mulpatra

माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको मृत्यु भएको र देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसेनीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माङसेवुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् र उनीहरू उद्धारको प्रतीक्षामा छन्। कठिन भूगोल र अविरल वर्षाका कारण उद्धार र तथ्यांक संकलनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन र बासिन्दाहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्। जिल्ला प्रहरीका अनुसार अझै पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ, जसले बेपत्ता हुनेको संख्या थपिन सक्ने अनुमान गरिएको छ।

Image Source: © https://mulpatra.com

लगातारको वर्षाका कारण इलामका धेरै ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।