हमासले सार्वजनिक गर्यो जीवित २० बन्धकको नाम, विपिन जीवित नरहेको परिवारलाई जानकारी

काठमाडौं– हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।
जसमा नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम समावेश छैन । सूचीमा रहेका २० जना बन्धकहरूको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो । उनीहरूको नाम नै रिहा हुने सूचीमा राखेर सार्वजनिक गरिएको हो ।
इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी गराएका थिए ।
अमेरिकाको मध्यस्थतामा इजिप्टमा भएको वार्तामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको समय भने दिउँसो २ः४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।