राष्ट्र बैंकले तिहारमा सुनका असर्फी वितरण नगर्ने, चाँदीका मेडालियन लिन परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले यस वर्ष धनतेरसका अवसरमा सर्वसाधारणलाई सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले नयाँ असर्फी नछापेकाले यसपालि वितरण नगर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीका अनुसार विगतका वर्षजस्तो यस वर्ष सर्वसाधारणले सुनका असर्फी खरिद गर्न पाउने छैनन् । केन्द्रीय बैंकले हाल चार प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ, जसका लागि धनतेरस पर्खिनु नपर्ने बताइएको छ ।
सुनका असर्फी छाप्न राष्ट्र बैंकको सञ्चालक समितिको निर्णय आवश्यक पर्छ । तर, तिहार नजिकिँदै गर्दा पनि समितिले निर्णय नगरेपछि नयाँ असर्फीको छपाइ र बिक्री दुवै हुन नसकेको हो ।
पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको र बजारमा आपूर्तिमा कमी देखिएको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ४८ हजार रुपैयाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्वभरका केन्द्रीय बैंकहरूले सुनलाई सञ्चितिको रूपमा राखिरहेकाले आपूर्तिमा कमी देखिएको बताइएको छ ।
गत वर्षको धनतेरसमा राष्ट्र बैंकले करिब ११ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो । त्यतिबेला २.५ ग्रामका ४ हजार ५२० थान सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
धनतेरसका दिन नेपालका तराई क्षेत्र र भारतमा नयाँ भाँडाकुँडा, सुन–चाँदीका गरगहना किनमेल गर्ने परम्परा रहिआएको छ । शास्त्रीय मान्यताअनुसार समुद्र मन्थनका बेला भगवान धन्वन्तरी अमृतको कलशसहित प्रकट भएकाले यो दिनलाई भाँडाकुँडा र धातुजन्य सामग्री खरिदका लागि शुभ मानिन्छ ।