राष्ट्रपतिसँग लिखित सम्झौताको प्रस्ताव गरेको जेनजी अगुवा पौडेलले यसरी फकाए
काठमाडौं– जेनजीका अगुवाहरूले हिजो राष्ट्रपति कार्यालयमा बसेको बैठकमा ‘आन्दोलनका उपलब्धि’ संस्थागत गर्न लिखित सम्झौताको माग गरे । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्झाइ बुझाइ गरेर सो माग मत्थर पारिदिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसमेतको सहभागीमा शीतल निवासमा ‘समन्वयात्मक बैठक’ बसेको थियो । जेनजीका चर्चित अनुहारहरू बैठकमा थिएनन् । सुधन गुरुङ मिराज ढुंगाना, रक्षा बमलगायत जेनजी लिडरहरू आफू नगएर प्रतिनिधि पठाएका थिए । बैठक मूलतः जेनजी आन्दोलनका एजेन्डा कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रीय रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार जेनजी अगुवाहरूले आन्दोलनपछि आफूहरूलाई ‘आतंककारी’ को आरोप लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । आन्दोलनलाई वैधता दिनका लागि सरकार र जेनजीहरुबीच लिखित सम्झौता हुनुपर्ने माग उनीहरूले राखे । राष्ट्रपति र प्रधानमन्त्रीले भने आन्दोलनले स्वतः वैधता प्राप्त गरिसकेकाले लिखित सम्झौता आवश्यक नरहेको तर्क गरेका थिए ।
खासगरी राष्ट्रपति पौडेलले जेनजीहरुलाई सम्झौता आवश्यक नरहेकोमा कन्भिन्स्ड गरेको स्रोत बताउँछ । आन्दोलनको परिणाम स्वरूप नै अहिले यो बैठक बसिरहेको भनेर उनले सम्झाए ।
राष्ट्रपतिको भनाइको सार यस्तो थियोः
‘म कार्यकारी राष्ट्रपति होइन । आन्दोलनकै परिणतिस्वरुप नै आज म तपाईंहरुसँग छु । यो बैठक आन्दोलनको उपलब्धि नै हो । आन्दोलनले वैधानिकता पाएको प्रमाण हो । सुशीला कार्कीजी प्रधानमन्त्री बन्ने अवस्था कतै पनि थिएन । उहाँ आन्दोलनको बलमा नै प्रधानमन्त्री बन्नुभएको हो । उहाँ विद्यार्थीकालदेखि नै संघर्ष गरेर आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँले जेनजीकै भावनाअनुसार काम गरिराख्नुभएको छ । यो पनि आन्दोलनले वैधानिकता पाएको प्रमाण हो ।
भ्रष्टहरूमाथि कारबाही हुनुपर्छ भन्ने तपाईँहरूको मागमा कसको विमति होला र । सरकारले कानून बमोजिम गरी नै हाल्छ । सरकारलाई विश्वास गर्नुप¥यो । सुशीलाजीलाई तपाईँहरूले नै यहाँसम्म ल्याउनुभएको हो । उहाँलाई सहयोग गर्नुप¥यो ।
अहिले विभिन्न पार्टीहरूमा पुरानो नेतृत्वले छोड्नुप¥यो, पुस्तान्तरण गर्नुप¥यो भन्ने लहर चलिरहेको छ । यो पनि तपाईँहरूले गरेको आन्दोलनकै प्रतिफल त हो ।
कानू उहाँहरूलाई छोड्नुप¥यो भन्ने छोडेँ भन्ने क्रम चलेको छ आन्दोलनको उपलब्धि हो । त्यसैले सबै कुरा लिखितमा गरेपछि मात्रै संस्थागत हुन्छ भन्ने होइन । आन्दोलनको उपलब्धि व्यवहारिकरुपमा हासिल भइरहेको नै छ ।
आगामी दिनमा जेनजी र सरकारबीच समन्वयका लागि प्रधानन्त्रीका तर्फबाट मुख्य सल्लाहकार अजयभद्र खनालले समन्वय गर्ने हिजोको बैठकमा जानकारी गराइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सो जानकारी दिएका थिए ।
उनले भने, ‘अहिलेसम्म तपाईंहरुसँग सरकारलाई जोड्ने प्रभावकारी च्यानल थिएन । अब सबै समन्वय उहाँले गर्नुहुन्छ ।’
