एमाले सचिव भट्टराईको दावीः मधेशको पार्टी निर्माणमा ईश्वर पोखरेलको हात
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले मधेशमा जनतासंग एकाकार भएर पार्टी निर्माण गर्नेमा ईश्वर पोखरेलको हात रहेको जनाएका छन् ।

मधेश प्रदेशमा एमाले स्वयंले गरेका गल्ती र एमाले माथि हुन थालेको आक्रमणको विषयलाई सम्बोधन गर्दै पार्टी सचिव योगेश भट्राईले सामाजिक सन्जालमा लामो स्टाटस राख्दै विगतमा मधेसमा पार्टीले प्राप्त गरेको उपलब्धिको श्रेय पार्टी अध्यक्ष र लामो समय जनतामा बसेर मधेशको राजनीतिलाई लयमा ल्याउने हात इश्वर पोखरेलेको रहेको जनाएका छन् ।
हालै होटलमा मधेश प्रदेशको मुख्यमन्त्रीलाई सपथ खुवाएको विषय अदालतमा रहेको छ । सोही विषयलाई लिएर एमालेबाट प्रदेश प्रमुख बनेकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरिसकेको छ भने होटलमा सपथ खाएर नियुक्ति लिने एमालेका मुख्यमन्त्री सरोज यादवको समेत पद धरापमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको छिमेकी भण्डारी ओलीकै निगाहमा प्रदेश प्रमुख बनेकी थिइन । उनको निर्णयले मधेश प्रदेशमा एमालेलाई धक्का लागेको छ । सोही कारण पनि एमालेबाट बनेका सभामुख समेत पदमुक्त भइसकेका छन् ।
यता हिजो बारा जिल्लामा एमालेले गर्ने तय भएको जागरण अभियानमा जान तयार भएका पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा जान पाएनन । त्यही कारण सिमरा विमानस्थलमा तोडफोड र आगजनी शुरु भएपछि राज्यले कर्फ्यु जारी गर्न वाध्य भयो ।
मधेशमा देखिएको पार्टीका कमजोरीले एमाले मधेशमा एक्लिएको बताउँदै सचिव भट्राईले सामाजिक सन्जालमा लेखेका छन् । ‘२०७२ साल असोज ३ गते तत्कालिन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केहि वर्ष मधेस प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रहयो । एमालेमाथि विभिन्न शक्तिहरूले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साधियो । पार्टी कार्यालय लगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकर पटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेसमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यों ।’
विगतको निर्वाचनमा उम्मेदवार छनौटमा समेत नेतृत्वले ध्यान नपुर्याएको कारण परिणाम कमजोर रहेको उनको आरोप छ । प्रतिनिधि छनौट र प्रभु साहको घातबारे उनले भने ‘प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिट सहित एमाले पहिलो पार्टी बन्यो । अंतिम बेलामा प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याऊँन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेसमा पार्टीलेप्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जांन्छ । वहाँले मसिनो ढंगले मधेसको कामको व्यवस्थापन तथा ब्यक्ति, व्यक्तिको खटन, पटन गर्नु भएको थियो । पार्टी सचिब रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।’
स्वयं पार्टी सचिव भट्राईले समेत मधेश प्रदेशको इंचार्जको भूमिका निर्वाह गर्दा प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा उल्लेख गरेका छन् ।
मधेश प्रदेशमा पार्टीको अवस्था राम्रो हुँदा हुँदै अहिले नेकपा एमालेलाई ठुलो धक्का लागेको स्वीकारेका छन् । पार्टीको सार्वजनिक छबिमा गंभीर प्रश्न उठेका, प्रदेश प्रमुखको बर्खास्ती भएको, सभामुख पदमुक्त हुनुभएको, मुख्यमन्त्री पद अदालतको कठघरामा रहेकोले एक्लिएको, पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको कारण के हो ? भन्दै उनले मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्ने कुरा राख्दै पार्टी अध्यक्षलाई निवेदन गरेका छन् ।
