Close

Recent Posts

जेनजी आन्दोलनमा जलेका सवारी लिलाममार्फत बिक्री गदै सरकार

जेनजी आन्दोलनमा जलेका सवारी लिलाममार्फत बिक्री गदै सरकार
  • ११ पुष २०८२, शुक्रबार १३:११

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते आगजनीमा क्षति भएका सवारी साधनहरू लिलाममार्फत बिक्री गरिने भएको छ। शहरी विकास मन्त्रालयले ती सवारी साधनलाई पत्रुका रूपमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

mulpatra

गत ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार, मिनाहा तथा लिलाम प्रक्रियामा बाँकी रहेका मन्त्रालय र निकायहरूले आवश्यक प्रक्रिया पूरा गरी लिलामयोग्य सामग्रीको सूची शहरी विकास मन्त्रालयमा बुझाउने व्यवस्था गरिएको छ। सोही निर्णय कार्यान्वयन गर्न गत सोमबार बसेको सचिवस्तरीय बैठकले एकमुष्ट सूची हस्तान्तरण गर्ने निर्णय गरेको हो।

बैठकका अनुसार सम्बन्धित मन्त्रालय र निकायहरूले पत्रुमा लिलाम गर्नुपर्ने सामग्रीको विवरण शहरी विकास मन्त्रालयलाई बुझाउनेछन् भने लिलामको सम्पूर्ण प्रक्रिया शहरी विकास मन्त्रालयले नै सम्पन्न गर्नेछ। आगलागीबाट जलेका सवारी साधनहरू हाल काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा राखिएको छ।

mulpatra mulpatra mulpatra

यसैबीच, बैठकले हाल सञ्चालनमा रहेका तथा नयाँ सवारी साधन र सरकारी भवनको अनिवार्य बीमा गर्ने निर्णय पनि गरेको छ। मर्मत सम्भव रहेका सवारी साधनलाई तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याइने भएको छ।

आवश्यकता र औचित्यका आधारमा नयाँ सवारी साधन खरिद गर्नुपर्ने अवस्था आएमा अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन तथा आवश्यक मार्गदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, सवारी साधनको दीर्घकालीन व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गरिरहेको अध्ययन कार्य यथाशीघ्र सम्पन्न गरी पेश गर्न निर्देशन दिइएको छ।