रास्वपा र बालेन बीच सहमतिः रबि सभापति बालेन प्रधानमन्त्री
काठमाडौँ । केही दिनदेखि सहमतिको प्रयासमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अन्ततः आज सहमतिमा हस्ताक्षर गरेका छन् । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाह बीच ‘बृहत् एकता’ सम्बन्धी सहमतिमा दुवै नेताले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने भएका छन् ।
सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।
नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।
सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी नै रहनेछ ।
दुबै पक्षले हस्ताक्षर गरेको सहमति पत्रः

