निजी क्षेत्रः समृद्धिको सारथीः चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र समृद्धिको सारथी रहेको बताएका छन्् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको सर्वपक्षीय राष्ट्रिय संवादमा ढकालले उक्त कुरा बताएका हुन् । समृद्धिको सारथी हुँदा हुँदै पनि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन् ।

समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको बिषय अझै पनि ओझेलमा परेको बताउँदै ढकालले निजी क्षेत्र अभैm पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको र गलत काम गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै गएको बताएका छन् ।
उनले भने ‘मुलुकमा लगानीका लागि उद्यमी र उद्यमशीलता बिकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुश नगर्दासम्म मुलुकमा लगानी गर्ने वातावरण बन्दैन ।’
लगानी नभइ रोजगारीनहुने, रोजगारी नभइ आयस्तरमा सुधार नहुने र आयस्तर बढ्न सकेन भने मानव बिकासमा सुधार नहुने भएकोले निजी क्षेत्रलाई प्रोत्साहित गरिने नीति आवश्यक रहेको उनको भनाई छ ।
राज्यको पछिल्लो आर्थिक अवस्थाको चित्रण गर्दै उनले भने ‘पछिल्लो डेढ बर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाले घाटामा छ । बैंकहरु करिब ११ खर्ब रुपैया लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ ।’
पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला भन्दै उनले बार्षिक ३ हजार देखि ३५ सय जनालाई मात्रै रोजगारी दिन सरकारले कसरी युवा पलायन रोक्न सक्छ र रोजगारी सिर्जना गर्न सक्छ भन्ने प्रश्न समेत गरेका छन । अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रति सरकारको धारणा सहज भए देश विकास हुन सक्ने समेत उनले धारणा राखेका छन् ।
अध्यक्ष ढकालले निजि क्षेत्रले भोगिरहेका समस्या सम्बन्धी प्रधानमन्त्री सामु प्रश्न समेत राखेका थिए । के ऋण, धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो ? होइन भने निजी क्षेत्रलाई किन सधैँ अपमानित गरिन्छ ?,
त्यतिमात्र होइन हाम्रा निजी सम्पत्तिमाथि नै आक्रमण र आगजनी हुन्छ ?, के व्यवसायीले आपूmले जोखिम लिएर धेरैलाई रोजगारी दिनु गलत हो ?, के हामीले कर तिरेर राज्य सञ्चालनका लागि खर्च जुटाउनु गलत हो ?,
के पूर्वाधार निर्माण गर्नु र आम जनतालाई सेवा दिनु गलत हो ?, कल्पना गरौँ, मुलुकको स्वास्थ्य, शिक्षा, पूर्वाधार, यातायात, कृषि, सूचना प्रविधि तथा वित्तीय क्षेत्रमा निजी क्षेत्रको लगानी नहुने हो भने मुलुकको अवस्था के हुन्छ ?, हामी निजी क्षेत्रले करिब ५५ लाखलाई रोजगारी दिएका छौँ । के सरकार मात्रले त्यो रोजगारी सृजना गर्न सम्भव छ ? प्रश्न गर्दै ढकालले निजी क्षेत्रले सम्मानित भएर काम गर्ने वातावरणको सृजना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।
