आज शेर्पा समुदायको नयाँ वर्ष पर्व ग्याल्पो ल्होसार
काठमाडौँ । आज शेर्पा समुदायमा नयाँ बर्ष अथवा ग्लाब्पो लोसार । शेर्पा समुदायले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको पर्व ग्याल्पो ल्होसार हर्षोल्लासका साथ मनाउने गर्छन। ल्हो अर्थात् वर्ष र छार अर्थात् नयाँ भन्ने अर्थ बोकेको ल्होसारलाई शेर्पा समुदायले परम्परागत नयाँ वर्षका रूपमा मनाउने चलन छ।

शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु अघि घर, आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ ।
ल्होसारमा गुथुक (नौ प्रकारका गेडागुडी मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । गुथुक बनाउँदा त्यसभित्र कागज, घ्यु, नुन, खुर्सानी राखिन्छ र खाने बेला आफ्नो भागमा जुन सामग्री पर्यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।
![]() |
![]() |
![]() |
|---|
गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी पनि नउठी पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, र घरका ठुलावडाबाट अशिर्वाद लिने परम्परा शेर्पा समुदायमा छ । त्यसपछि आफन्त–इष्टमित्रबीच शुभकामना आदानप्रदान गरिँन्छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ। यस अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) बजाएर रमाइलो गर्ने गरिन्छ ।
पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइने यस पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना सुदृढ बनाउने विश्वास गरिएको छ। परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको संस्कार विकास गर्ने विश्वास गरिन्छ ।
Image Source: © https://mulpatra.com
ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यसले पर्वको सांस्कृतिक महत्वलाई राज्यस्तरबाट पनि मान्यता दिएको संकेत गर्दछ। गुम्बा दर्शन, परम्परागत खानाका स्वाद र परिवारसँग बिताइने उल्लासपूर्ण समय नेपाली समाजको मौलिक पहिचानका रूपमा ग्याल्पो ल्होसारलाई लिइन्छ । नेपालमा अन्य जातजातिले पनि ल्होसार पर्वमा भएको मेला पुजा पाठहरुमा जाने र रमाइलो गर्ने गर्दछन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



