एमाले भित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि चुलिँदै जाँदा विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ ।

हालसम्म केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसहित ४०० भन्दा बढी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएको केही महिनामै जेनजी आन्दोलन र मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्वनाक हारेपछि नेतृत्वको विरुद्ध चरम असन्तुष्टि बढेको छ । हस्ताक्षर अभियानले पनि यो कुराको पुष्टि गरेको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको कमजोर नतिजा, प्रत्यक्षतर्फ सीमित सिटमा खुम्चिनु तथा समानुपातिकतर्फ पनि अपेक्षाभन्दा कमजोर प्रदर्शन हुनुका कारण नेतृत्वप्रति जनविश्वास घटेको निष्कर्षसहित अभियान अघि बढाइएको हो ।
![]() |
![]() |
![]() |
|---|
विशेषगरी काठमाडौं उपत्यकामा अधिकांश क्षेत्रमा उम्मेदवारको जमानत जफत हुनु र शीर्ष नेताहरू नै पराजित हुनु पार्टीको वर्तमान कार्यशैलीप्रति जनअसन्तुष्टि रहेको संकेतका रूपमा व्याख्या गरिएको छ । युवा नेताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्न नयाँ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
पार्टी विधानअनुसार बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य वा दुई(तिहाइ जिल्ला कमिटीले लिखित रूपमा माग गरेमा ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । सो अवधिमा महाधिवेशन आयोजना नभए मागकर्ताहरूले नै आयोजक समिति गठन गरी महाधिवेशन गर्न सक्ने प्रावधान पनि रहेको छ । यसै व्यवस्थालाई आधार बनाएर इतर समूह र युवा नेताहरूले हस्ताक्षर अभियानलाई तीव्र बनाएका छन् ।



