सत्यनारायण साहलाई प्रमुख पदबाट हटाइयो, सदर चिडियाखानामा बर्ड फ्लु देखिँदा पनि किन लुकाए उनले ?
काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच–५ एन–१) संक्रमण पुष्टि भएपछि चिडियाखानाका प्रमुख सत्यनारायण साहमाथि गम्भीर प्रश्न उठेको छ। संक्रमणका कारण पन्छी तथा वन्यजन्तुहरू धमाधम मर्दै गर्दा उनले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराएको आरोप लागेको छ। यही आरोपका आधारमा कोषले साहलाई प्रमुखको जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाएको छ।

घटनाको सुरुवात करिब १० दिनअघि चिडियाखानाभित्र पन्छीहरू अस्वाभाविक रूपमा मर्न थालेपछि भएको बताइन्छ। सुरुमा केही बकुल्ला र अन्य चराचुरुङ्गी मरे पनि त्यसलाई सामान्य घटना ठानिएको थियो। त्यसपछि लाटोकोसेरो, गिद्ध तथा केही दुर्लभ वन्यजन्तुहरू समेत मरे त्यसमा नीरबिरालो र चरीबाघजस्ता स्तनधारी जनावरमा समेत संक्रमण भेटियो।
संक्रमण पुष्टि हुनुअघि नै चिडियाखानाभित्र असामान्य मृत्युका घटनाहरू बढिरहेका थिए। तर ती घटनाबारे केन्द्रीय कार्यालयलाई औपचारिक जानकारी नपुगेको देखिएको छ। यही कारण अहिले मुख्य प्रश्न उठेको र संक्रमणको संकेत देखिँदै गर्दा साहले किन मौनता अपनाए ? के उनले अवस्थाको गम्भीरता बुझ्न सकेनन्, वा सूचना बाहिरिँदा आफ्नो व्यवस्थापकीय कमजोरी उजागर हुने डरले तथ्य लुकाउने प्रयास गरे भन्ने प्रश्न उब्जिएको छ ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले यसलाई अत्यन्त संवेदनशील विषय मानेकी छन्। वन्यजन्तुको स्वास्थ्य, सार्वजनिक सुरक्षा र जैविक जोखिमसँग सम्बन्धित विषयमा सूचना लुकाउनु गम्भीर प्रशासनिक त्रुटि भएको ठहर गर्दै उनले तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्। त्यसपछि कोषले प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन्।
छानबिन समितिले केवल सूचना लुकाइयो वा लुकाइएन भन्ने मात्र होइन, संक्रमण फैलिनुका कारण, रोग व्यवस्थापनमा भएका कमजोरी, मृत वन्यजन्तुको व्यवस्थापन तथा आपत्कालीन प्रतिक्रिया प्रणाली प्रभावकारी थियो वा थिएन भन्ने विषयमा पनि अनुसन्धान गर्नेछ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यस घटनाले सदर चिडियाखानाको व्यवस्थापन प्रणालीमाथि समेत प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार चिडियाखाना जस्ता संवेदनशील स्थानमा कुनै पनि संक्रामक रोगको संकेत देखिनेबित्तिकै सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनुपर्छ। तर जावलाखेल चिडियाखानामा भने संक्रमण पुष्टि हुनुअघि र पछि पनि सूचना प्रवाह प्रभावकारी नभएको आरोप छ।
Image Source: © https://mulpatra.com
साहलाई हटाएर वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ। यदि जानाजानी सूचना लुकाइएको प्रमाणित भयो भने यो केवल प्रशासनिक कमजोरी मात्र नभई वन्यजन्तु संरक्षण र सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर लापरवाहीका रूपमा हेरिनेछ।
बर्ड फ्लुको संक्रमण अहिले नियन्त्रणमा ल्याउन प्रयास भइरहेको भए पनि यो घटनाले एउटा महत्वपूर्ण प्रश्न छोडेको छ—संवेदनशील जैविक जोखिम देखिँदा सम्बन्धित अधिकारीहरूले समयमै सूचना प्रवाह नगर्दा त्यसको मूल्य वन्यजन्तु र संस्थाले कति ठूलो चुकाउनुपर्छ ?
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



