अस्पतालमा दुई दिन ओपीडी नचल्दा सर्वसाधारणलाई सास्ती

अस्पतालमा दुई दिन ओपीडी नचल्दा सर्वसाधारणलाई सास्ती
  • २८ चैत्र २०८२, शनिबार १५:२३

काठमाडौँ । देशभरका सरकारी तथा निजी अस्पतालहरूमा हप्तामा दुई दिन (शनिबार र आइतबार) ओपीडी सेवा नियमित रूपमा सञ्चालन नहुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरे पनि नेपाल चिकित्सक संघले त्यसलाई अस्वीकार गरेपछि बिरामीहरू थप समस्यामा परेका हुन्।

mulpatra

दैनिक चेकजाँच, फलोअप तथा सामान्य स्वास्थ्य सेवाका लागि अस्पताल पुग्ने बिरामीहरू ओपीडी बन्द हुँदा सेवा नपाएर फर्किन बाध्य भएका छन्। विशेषगरी वृद्धवृद्धा, दीर्घरोगी तथा टाढाबाट आउने बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। कतिपय बिरामीले आकस्मिक कक्ष (इमर्जेन्सी) को भर पर्नुपर्दा त्यहाँ अनावश्यक भीड बढेको छ।

अस्पतालमा नियमित जाँच नपाउँदा निजी क्लिनिक तथा महँगा अस्पतालतर्फ धाउनुपर्ने बाध्यता बढेको सर्वसाधारणको गुनासो छ। यसले स्वास्थ्य खर्चमा समेत वृद्धि गरेको छ। “सामान्य जाँचका लागि पनि इमर्जेन्सी जानुपरेको छ, खर्च र झन्झट दुवै बढ्यो,” एक सेवाग्राहीले बताए।

mulpatra mulpatra mulpatra

उता चिकित्सक संघले भने पर्याप्त जनशक्ति अभाव, कार्यबोझ र व्यवहारिक कठिनाइका कारण थप दिन ओपीडी सञ्चालन गर्न नसकिने बताउँदै आएको छ। चिकित्सकहरू नियमित ड्युटीबाहेक पनि आकस्मिक सेवा, अनकल तथा वार्ड राउण्डमा चौबीसै घण्टा खटिनुपर्ने अवस्थालाई बेवास्ता गरिएको उनीहरूको गुनासो छ।

फरक–फरक दिन बिदा हुँदा स्वास्थ्य संस्थाहरूमा एकरूपता नआउने र यसले बिरामीलाई झन् अन्योलमा पार्ने चिकित्सकहरूको तर्क छ। यस्तै, इन्धन अभावकै कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा थप दिन सेवा सञ्चालन गर्दा खर्च बढ्ने उनीहरूको भनाइ छ।

सरकार र चिकित्सकबीच सहमति नहुँदा यसको प्रत्यक्ष मार भने सर्वसाधारणमा परेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो अन्योल लामो समयसम्म रहँदा नागरिकको आधारभूत स्वास्थ्य अधिकारमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com