बैशाख ११ः आज लोकतन्त्र दिवस
काठमाडौं । आज देशभर २०औँ लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। २०६२/२०६३ सालको जनआन्दोलनको बलमा वैशाख ११ तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्ताले जनताको शक्तिका सामु घुँडा टेकेको थियो ।

विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् लामो राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण पुनःस्थापित हुन सकेको थिएन। त्यस अवधिमा राजाले आफ्नै इच्छाअनुसार सरकार गठन र विघटन गर्ने क्रम चलाएका थिए। लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गरिएको थियो।
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो। यसले विभाजित राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै २०६२र६३ को जनआन्दोलनलाई निर्णायक बनायो।
२०६२ चैत्रबाट शुरु भएको आन्दोलन नयाँ वर्ष २०६३ लागेसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।
![]() |
![]() |
![]() |
|---|
पुनर्स्थापित संसद्को २०६३ जेठ ४ गतेको ऐतिहासिक बैठकले राजसंस्थाको अधिकार कटौती गर्दै निलम्बन गर्यो र माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने मार्ग प्रशस्त गर्यो। यस निर्णयलाई ‘नेपाली म्याग्नाकार्टा’का रूपमा समेत चिनिन्छ।
यसै प्रक्रियाबाट २०६४ चैत २८ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यसपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी भई संघीय शासन प्रणाली कार्यान्वयनमा आएको छ।
लोकतन्त्र दिवसलाई गणतन्त्र स्थापनाको आधारशिला तथा जनताको सार्वभौम अधिकार पुनःस्थापनाको प्रतीकका रूपमा मनाइन्छ। यद्यपि जनताका अपेक्षा पूरा नभएको, राजनीतिक अस्थिरता र भ्रष्टाचारजस्ता चुनौती कायमै रहेकाले लोकतन्त्रलाई सुदृढ बनाउन थप प्रयास आवश्यक रहेको विश्लेषण गरिन्छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



