भत्काउन थालियो पोखरामा सुकुम्बासीका घर टहरा
काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका सुकुम्बासीका घर संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ ।

फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सिमाङ्कनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले डोजर परिचालन गरेको हो । महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो ।
महानगरले फिर्केखोलाका तीन क्षेत्रबाट एकैसाथ संरचना हटाउने काम अघि बढाएको जनाएको छ। पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि वडा–४ तर्फ, फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर आसपासबाट वडा–५ र ८ तर्फ तथा जिरोकिलोमिटरस्थित लायन्स भवन क्षेत्रबाट फेवातालतर्फ अभियान सञ्चालन गरिनेछ।
![]() |
![]() |
![]() |
|---|
महानगरको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरमाथि १६० वटा संरचना निर्माण गरिएको पाइएको छ। तीमध्ये ९७ अस्थायी र ३५ स्थायी संरचनाले प्रत्यक्ष रूपमा खोला मिचेको उल्लेख गरिएको छ भने संस्थागत तर्फ २८ वटा संरचना खोलामाथि बनाइएका छन्।
पोखराका विभिन्न वडाबाट बग्दै फेवातालमा मिसिने करिब आठ किलोमिटर लामो फिर्केखोलाको संरक्षण, जलप्रवाह व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सुरु गरिएको महानगरले जनाएको छ।
अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय सङ्गठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल ९एपीएफ० को तालिम केन्द्रको भवन समेत पर्दछन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



