Close

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिगत तयारी

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिगत तयारी
  • २५ असार २०८३, बिहीबार १८:२४

काठमाडौं– पेट्रोलमा जैविक इन्धन (बायोफ्युल) को मात्रा बढाउने भारत सरकारको आक्रामक निर्णयले त्यहाँका सवारी चालकहरूमाझ ठूलो आक्रोश र बहस सिर्जना गरेको छ ।

mulpatra

विशेषगरी बजारमा गुडिरहेका अधिकांश पुराना सवारी साधनहरू यो इन्धनका लागि उपयुक्त नभएको अवस्थामा सरकारले एकलौटी रूपमा निर्णय लादेको भन्दै उपभोक्ताहरू रुष्ट बनेका छन् ।

नेपालमा पनि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिगत तयारी गरिरहेको र उद्योगीहरूले यसको माग गरिरहेको सन्दर्भमा, छिमेकी देश भारतको यो तीतो अनुभव नेपालका नीतिनिर्माता र उपभोक्ता दुवैका लागि पाठ बन्न सक्छ ।

mulpatra mulpatra mulpatra

संसारकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे र तेस्रो ठूलो कार बजार भएको भारतले पेट्रोलियम आयात घटाउन र कार्बन उत्सर्जन कम गर्न सन् २००० को दशकको मध्यदेखि उखु र मकैबाट बन्ने इथानोल पेट्रोलमा मिसाउन थालेको हो । तर, गत अप्रिलदेखि भारत सरकारले देशभरका हरेक पम्पमा अनिवार्य रूपमा २० प्रतिशत इथानोल मिसाइएको ‘ई–२० पेट्रोल’ लाई स्ट्यान्डर्ड इन्धन बनाएपछि गुनासोहरू तीव्र भएका छन् ।

यसअघि बजारमा १० प्रतिशत मात्र इथानोल मिसाइन्थ्यो, जसका लागि अधिकांश गाडीहरू योग्य थिए ।

अहिले भारतमा इथानोल नमिसाइएको शुद्ध पेट्रोल पनि उपलब्ध त छ, तर त्यो राज्य अनुसार ४० देखि ५० प्रतिशतसम्म महँगो छ । साथै, धेरैजसो सवारी चालकहरूलाई पम्पमा गएर शुद्ध पेट्रोल माग्न सकिन्छ भन्ने जानकारी नै छैन । विगत केही महिनादेखि सामाजिक सञ्जालमा चालकहरूले गाडीको इन्जिन बिग्रिएको, माइलेज (इन्धन दक्षता) घटेको र पिकअप कम भएको भन्दै गुनासो गरिरहेका छन् ।

Image Source: © https://mulpatra.com

गत हप्ता मात्रै नयाँ दिल्लीमा सवारी चालकहरूले सरकारले जबरजस्ती ई–२० इन्धन लादेको र आफूहरूमाथि मर्मत खर्चको भार थपेको भन्दै विरोध प्रदर्शन समेत गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भने यी गुनासाहरूलाई ‘भ्रामक र सामाजिक सञ्जालको अफवाह’ भन्दै खारेज गरेको छ । सरकारले व्यापक परीक्षण पछि मात्र यो इन्धन बजारमा ल्याइएको र यसले इन्जिनलाई कुनै क्षति नगर्ने दाबी गरेको छ ।

गत हप्ता, सरकारलाई साथ दिँदै मारुती सुजुकी लगायत ६ वटा ठूला गाडी निर्माता कम्पनीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै वर्षौँको परीक्षणले पुराना गाडीमा कुनै ठूलो क्षति नदेखाएको दाबी गरे । मारुती सुजुकीका वरिष्ठ कार्यकारी राहुल भारतीले कम्पनीले १५ मिलियन (१ करोड ५० लाख) भन्दा बढी पुराना गाडीहरूको सर्भिसिङ गर्दा इन्धनका कारण कुनै खराबी फेला नपारेको बताए ।

यद्यपि, अटो कम्पनीहरूले इथानोलमा ऊर्जाको मात्रा कम हुने भएकाले गाडीको माइलेज ३ देखि ३.५ प्रतिशतले घट्ने कुरा भने स्वीकार गरे । तर, केही स्वतन्त्र अनुमानहरूले भने माइलेजमा ४ देखि १२ प्रतिशतसम्मको गिरावट आउन सक्ने देखाएका छन् ।

सरकारी दाबी जे सुकै भए पनि जमिनको यथार्थ फरक छ । मुम्बईका बाइक मेकानिक मोहम्मद आरिफ भन्छन्, ‘मैले गत वर्षदेखि धेरै पुराना बाइकहरूको कार्बोरेटरमा इन्धनको लेदो जमेको समस्या हेरिरहेको छु । इथानोलको उच्च मात्राले गर्दा यस्तो फोहोर जम्छ, जसले गाडीको पर्फर्मेन्स घटाउँछ र ग्राहकको मर्मत खर्च बढाउँछ ।’

अटोकार इन्डियाका सम्पादक हरमज्द सोराबजीका अनुसार एथानोलले चिसो वा ओस सोस्ने हुनाले समयक्रममा इन्धन प्रणालीमा खिया लाग्ने र पुराना इन्जिन भित्र जमेका फोहोरहरू उप्किएर फ्युल पम्प र इन्जेक्टरहरू जाम हुने सम्भावना रहन्छ । यो एकैचोटि नभई १० देखि २० हजार किलोमिटर गुडेपछि देखिने ‘स्लो–बर्न’ (ढिलो देखिने) असर हो ।

‘लोकलसर्कल्स’ नामक संस्थाले सन् २०२३ भन्दा अगाडिका सवारी धनीहरूमाझ गरेको सर्वेक्षणमा अधिकांशले गाडीमा ‘अस्वाभाविक रूपमा टुटफुट र मर्मतको आवश्यकता’ बढेको बताएका छन् । अर्कोतर्फ, यो इन्धन सुरक्षित छ वा असुरक्षित भन्ने पुष्टि गर्ने कुनै पनि वैज्ञानिक अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरिएकाले उपभोक्तामा अन्योल झन् बढेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com