मल नपाएर धान रोपाइँ सकिन लाग्दा सरकार भन्दैछ– १ हजार २५० मे.टन मल आउँदैछ
काठमाडौं। देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसकेको छ। तर किसानको सबैभन्दा ठूलो चिन्ता बनेको छ– रासायनिक मल। खेतमा धान रोप्ने समय सकिन लाग्दा पनि अधिकांश किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन्। सहकारी र बिक्री केन्द्रमा बिहानैदेखि लाइन बस्ने, घण्टौँ पालो कुर्ने, अन्त्यमा १५–२० किलो मात्र मल लिएर फर्किनुपर्ने वा रित्तै घर फर्किनुपर्ने अवस्था देशका अधिकांश कृषि जिल्लामा दोहोरिएको छ। यता सरकार भने ू१ हजार २५० मेट्रिक टन डिएपी मल नेपाल आउँदैछू भन्ने सूचनालाई उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार खुला प्रतिस्पर्धाबाट खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपीमध्ये १ हजार २५० मेट्रिक टन नेपालतर्फ पठाइएको छ भने बाँकी मल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको छ। त्यस्तै ३० हजार मेट्रिक टन युरिया पनि बन्दरगाहमा आइपुगेको र प्याकेजिङपछि नेपाल पठाइने तयारी भइरहेको जनाइएको छ। तर यो मल नेपाल भित्रिए पनि भन्सार प्रक्रिया पूरा गरेर वीरगञ्ज, त्यसपछि प्रदेश, जिल्ला, सहकारी र अन्ततः किसानसम्म पुग्न अझै समय लाग्ने निश्चित छ। त्यसबेलासम्म धेरै ठाउँमा धान रोपाइँ सकिइसकेको हुनेछ।
देशका विभिन्न जिल्लाबाट किसानले एक बोरा मलका लागि दिनहुँ सहकारी धाइरहेको तर खाली हात फर्किनुपरेको, किसानले डिएपी नपाएर मलविनै धान रोपेको, पालो कुर्दाकुर्दै रोपाइँ सकिएको बताएका छन्। कतिपय स्थानमा एउटा बोरालाई दुई–तीन किसानबीच बाँडेर वितरण गरिएको छ, जुन आवश्यकताभन्दा निकै कम हो।

किसानका अनुसार धान रोप्ने बेलामा डिएपी मल नपाए उत्पादनमा प्रत्यक्ष असर पर्छ। समयमै हाल्नुपर्ने मल ढिलो आएपछि त्यसको प्रभाव उत्पादनमा पर्ने कृषि विज्ञहरू पनि बताउँछन्। त्यसैले अहिले आउने भनिएको मलले यस वर्षको रोपाइँमा तत्काल राहत दिनेभन्दा पनि ढिलो आएको आपूर्ति मात्र हुने किसानको बुझाइ छ।
सरकारले भने थप मल आयातको प्रक्रिया अघि बढेको, वितरण प्रणालीलाई पारदर्शी बनाउन सूचना प्रणाली लागू गरिएको र किसानको गुनासो सम्बोधन गर्ने प्रयास भइरहेको दाबी गरेको छ। तर किसानहरू भन्छन्, आश्वासनभन्दा खेतमा मल चाहिएको हो।
Image Source: © https://mulpatra.com
विगतका वर्षझैँ यस वर्ष पनि धान रोपाइँको मुख्य सिजनमा रासायनिक मल अभाव दोहोरिएपछि सरकारी योजना, खरिद प्रक्रिया र वितरण प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। किसानहरूको भनाइमा, मल बन्दरगाहमा आइपुग्नु मात्रै उपलब्धि होइन, रोपाइँ सकिनुअघि खेतसम्म पुग्नु नै वास्तविक उपलब्धि हो। अहिले भने खेतमा किसान छन्, धान छ, वर्षा पनि छ, तर सबैभन्दा आवश्यक मल अझै बाटोमै छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
