कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, खोजि हुँदै
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएपछि सम्पर्कविहीन भएका छन् ।

आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार महिलाहरू आइतबार बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा जंगल प्रवेश गरेका थिए ।

सम्पर्कविहीन हुनेमा सविता चौधरी, सानु चौधरी र सुमित्रा सुनारलगायत रहेका छन्। अन्य महिलाको विवरण संकलन गरी परिवारबाट प्रमाणित गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी राउतका अनुसार महिलाहरू साँझसम्म घर नफर्किएपछि खोजी अभियान सुरु गरिएको हो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार उनीहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्छ ।
Image Source: © https://mulpatra.com
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नेत्रमणि गिरीले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको बताए ।
उनका अनुसार अहिलेसम्म महिलाहरूसँग कुनै सम्पर्क हुन सकेको छैन । खोजी अभियानको नेतृत्व गर्न डीएसपी टेकबहादुर राउत पनि घटनास्थलतर्फ पुगेका छन् ।
यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए । उनीहरू भने सोमबार बिहान सकुशल सम्पर्कमा आएको डीएसपी राउतले जानकारी दिए ।
हाल नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र ती १४ महिलाको खोजीलाई तीव्र बनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
