‘बैंंकहरूसँग पर्याप्त तरलता छ, प्रणालीमा कुनै समस्या छैन’
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए ।

बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए ।
‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् । यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ बताउँदै उनले बैंकहरू सबल र सुरक्षित रहेको बताए ।
![]() |
![]() |
![]() |
|---|
यसबाहेक ५ लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेका छौं ।
‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । जस कारण हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । २८ प्रतिशत खुद तरल सम्पत्ति छ । यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’



