मेचिनगरमा प्रधानाध्यापकले कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने

मेचिनगरमा प्रधानाध्यापकले कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने
  • ९ मंसिर २०८१, आईतवार २१:४७

झापा । मेचीनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक हुनलाई विद्यालयको विकास प्रस्ताव पेश गरि कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ ।

मेचीनगर नगरपालिकाले मेचीनगर शिक्षा नियमावली २०८१ लाई लालमोहर लाउँदै उक्त व्यवस्था गरेको हो । लामो समयदेखि नियमावली संसोधन नहुँदा कतिपय बुँदाहरु समेटिन सकेको थिएन भने कतिपय नयाँ प्रावधान थपेर विद्यालयलाई व्यवस्थीत गर्न खोजेको छ ।

जसअनुसार परिच्छेद ९ को बुँदा ५० मा प्रधानाध्यापक सम्बन्धी व्यवस्था राख्दै उपनियम ३ मा भनेको छ ‘उपनियम (२.) बमोजिम प्रधानाध्यापक पदमा नियुक्ति हुनुपूर्व निजले अनुसूची ११ बमोजिमको ढाँचामा विद्यालयको विकास प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्रधानाध्यापकसंग कार्यविवरण कार्यसम्पादन करार सम्झौता गर्नुपर्नेछ, ।’

त्यस्तै दुई कार्याकाल भन्दा बढी प्रधानाध्यापक हुन नपाउने समेत व्यवस्था गर्दै उपनियम ४ मा ‘एउटै सामुदायिक विद्यालयमा लगातार दुई कार्यकाल (दश वर्षभन्दा बढी) एकै व्यक्ति प्रधानाध्यापक हुन पाउनेछैन’ भनी व्यवस्था गरेको छ ।

बुँदा ५२ मा वरिष्ठ शिक्षकलाई सहायक प्रधानाध्यापक बनाउने व्यवस्था गर्दै जुनियर वा कनिष्ट शिक्षकलाई सहायक प्रधानाध्यापक बनाउन रोक लगाएको छ ।

छात्रवृत्ति दिने विद्यार्थीको विभिन्न मापदण्ड तयार गर्दै संस्थागत विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने र छात्रवृत्ति दिएका विद्यार्थीहरुको नामथर, कक्षा, बाबुआमाको नामथर, वतन सहितको विवरण विद्यालयको वेवसाइट तथा सूचनापाटीमा टाँसगरी सार्वजनिक गरी त्यस्तो विवरण एक प्रति नगर शिक्षा शाखामा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।