गभर्नर नियुक्तिमा सरकारको ढिलाईप्रति कांग्रेस सतर्क, प्रधानमन्त्रीलाई एक साताको ‘अल्टिमेटम’

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न ढिलाइ गर्दै गए पछि सत्ताको प्रमुख घटक नेपाली कांग्रेस शतर्क भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्थायित्व सुनिश्चित भएको अवस्थामा मात्रै कांग्रेसको कोटाबाट गभर्नर नियुक्त गर्ने भन्दै अलमल्याउन खोजेपछि दुई दलबिच विस्वासको संकट देखिने अवस्था सिर्जना भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सत्ता गठबन्धनमा समस्या नहुने प्रतिबद्धता जनाइसके पनि प्रधानमन्त्री ओली आस्वस्त नदेखिएको स्रोतको दाबी छ ।
कांग्रेस पार्टीभित्र सरकारको विरोध गर्ने र गठबन्धनबाट बाहिर आउन दबाब बढेको देखेपछि एमालेले पार्टीभित्रै विवाद सल्टाउन आग्रग गरिसकेको छ । यस्तो बेला पाकिस्तानसँग सम्भावित युद्ध खतरा मोलिरहेको भारतका नेताहरुले नेपालमा सक्रियता बढाएपछि ओली थप सशंकित बनेका हुन् ।
त्यसै कारण प्रधानमन्त्री पद नजोगिने हो भने गभर्नर कांग्रेसलाई दिनु हुँदैन भन्ने सुझाव बोकेर कार्यकर्ताहरु बालुवाटार पुगेका छन् । सोही कारण गभर्नर सिफारिस समितिलाई भविष्यमा न्यायिक निरुपणको खाँचो पर्ने गरी पूर्णता दिइएको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नै आफ्नो उत्तराधिकारी छान्ने प्रक्रियामा सहभागि गराउने गरी सरकारले सिफरिस समिति बनाएको छ । गभर्नर बन्ने पात्र पनि तयार छन् । राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउन देउवा र ओलीबीच पटक पटक सहमति बनेको छ ।
भट्टले आफ्नो कार्यकाल बाँकी छँदै राष्ट्र बैंकको विशिष्ट श्रेणिबाट राजिनामा दिइसकेका छन् । तर उनको राजिनामा स्वीकृत पनि भएको छैन र नयाँ गभर्नर नियुक्ति प्रक्रिया पनि अघि बढेको छैन । यसो हुनुमा केही शक्तिकेन्द्रहरुले ‘वातावरण मिलाउन’ गरिरहेको प्रयास, अनि स्वयम् प्रधानमन्त्री नै सत्ता गठबन्धनप्रति विस्वस्त नहुनुलाई कारण मानिएको छ ।
यद्यपि, कांग्रेस सभापति देउवाले पुनः आइतबार साँझ प्रधानमन्त्रीलाई भेटेर यस बारेमा छलफल गरेको बताइएको छ । बालुवाटार स्रोतका अनुसार दुई नेताबीच पछिल्ला दिनमा सत्ता गठबन्धन बदल्न भइरहेका प्रयास र कांग्रेसभित्र सरकारको विरोध गर्ने प्रबृत्तिमाथि छलफल भएको थियो ।
यसै क्रममा डा. भट्टलाई यही हप्ताभित्र गभर्नर नियुक्त गर्न देउवाले प्रधानमन्त्रीलाई सचेत गराएको स्रोतको दाबी छ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले पनि गठबन्धन भत्किँदैन भन्ने पुनः प्रतिबद्धता लिँदै आगामी विहीबार अर्थात् वैशाख २५ को मन्त्री परिषद बैठकबाट नयाँ गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएको बालुवाटार स्रोतले जनाएको छ ।