बिहीबारसम्म नयाँ गभर्नर नियुक्ति गर्न एमालेलाई कांग्रेसका दबाब

बिहीबारसम्म नयाँ गभर्नर नियुक्ति गर्न एमालेलाई कांग्रेसका दबाब
  • २३ बैशाख २०८२, मंगलवार ११:४५

काठमाडौं– नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बिहीबारसम्म नियुक्त गर्ने तयारी गरिएको छ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो । सोहीअनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्।

उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन् । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भएको थियो ।

भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउवाले चासो राखेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समयसीमा दिएको बताइएको छ । ओलीको प्रतिबद्धता पाएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्छ। तर, समितिको बैठक नै अहिलेसम्म बस्नसकेको छैन ।

सोमबार समितिको बैठक बस्ने भनेपनि बस्न सकेन । ओलीलाई भेटेको भोलिपल्ट अर्थात् सोमबार देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवास बोलाएका थिए। गभर्नरमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवाबीच छलफल भएको बताइएको छ ।