अलैची निर्यातकर्ता भरत चौधरी सम्मानित

काठमाडौं । निर्यात व्यवसायको प्रवर्द्धन र संस्थागत विकासमा अग्रसर निर्यात व्यवसायी महासंघ नेपालले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले गोविन्द घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
काठमाडौंको गैरीधारामा आयोजित यस कार्यक्रममा देशभरका वस्तुगत निर्यातमा योगदान पुर्याउने २३ संस्थाका अग्रणी निर्यातकर्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। नेपालमा उत्पादन हुने प्रमुख निर्यात सामाग्रीमध्ये एक अलैची क्षेत्रका विशिष्ट व्यवसायीहरूलाई समेत कार्यक्रममा विशेष रुपमा सम्मान गरिएको थियो।
सोही अवसरमा अलैची निर्यातमा विगत १५ वर्षदेखि अतुलनीय योगदान पुर्याउँदै आएका विर्तामोड निवासी व्यवसायी भरत चौधरीलाई सम्मान गरिएको छ। निर्यात व्यवसायी महासंघका अनुसार चौधरीले “एभरेष्ट इन्टरनेशनल कम्पनी” मार्फत नेपाली अलैचीलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न उल्लेखनीय भूमिका खेलेका छन्।
अलैची उत्पादन तथा निर्यात संघका अध्यक्ष निर्मल भट्टराईका अनुसार नेपालको प्रमुख नगदेवालीका रुपमा रहेको अलैचीको उत्पादन प्रशोधन र बजारीकरणमा विशेष योगदान दिएवापत व्यवसायी विर्तामोडका भरत चौधरीलाई सम्मान गरिएको जानकारी दिएका छन् ।
प्रमुख अतिथिका रुपमा रहेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीको हातबाट सम्मान ग्रहण गरिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, उद्योग बाणिज्य मन्त्रालयका सचिव, सिएन आइका वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षव्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका प्रमुख शरद विक्रम राणा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका पदाधिकारीले नेपाली अलैचीको गुणस्तर, मूल्यवृद्धि, र निर्यात सहजता वृद्धि गर्न आवश्यक नीति सुधारमा सरकारसँग समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। साथै, भरत चौधरीको निर्यात यात्रालाई उदाहरणीय भन्दै अध्यक्ष गोविन्द घिमिरेले भने, “देशको पहाडी भेगमा उत्पादन हुने अलैचीलाई विश्व बजारमा पुर्याउन चौधरीजस्तो व्यवसायीको योगदान अत्यन्त प्रेरणादायी छ। यस्तो उदाहरणले अन्य व्यवसायीलाई पनि दीर्घकालीन सोच र लगानी गर्न उत्प्रेरणा दिन्छ।”
नेपालको पूर्वी क्षेत्र, विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुरजस्ता जिल्लाहरूमा उत्पादन हुने अलैची नेपालको एक प्रमुख कृषि निर्यात वस्तु हो। तर बजार पहुँच, मूल्य स्थायित्व, र ढुवानी संरचनामा समस्या आइरहेका बेला चौधरीले आफ्ना व्यापारिक रणनीतिबाट नेपाली अलैचीलाई भारत, मध्यपूर्व र युरोपेली बजारसम्म पु-याएका छन्।
सम्मान ग्रहण गर्दै चौधरीले भने, “हामीले निर्यातको सुरुवात गर्दा धेरै चुनौती थिए। किसानसँग प्रत्यक्ष समन्वय, गुणस्तरीकरण, प्याकेजिङ, ढुवानी र भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै आजको अवस्थामा आइपुग्यौं। यो सम्मान सम्पूर्ण अलैची कृषक र निर्यातकर्ता समुदायको साझा उपलब्धि हो।”