Close

Recent Posts

लामो विवाद पछि इप्पानको साधारण सभा जेठ २९ मा हुँदै

लामो विवाद पछि इप्पानको साधारण सभा जेठ २९ मा हुँदै
  • २८ जेष्ठ २०८३, बिहीबार १०:३८

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा आगामी जेठ २९ गते हुने भएको छ । संस्थाभित्र विधान संशोधन, महासंघमा रूपान्तरण र निर्वाचन प्रक्रियालाई लिएर लामो समयदेखि जारी विवादका बीच साधारणसभा हुन लागेको हो ।

mulpatra

इप्पान अध्यक्ष गणेश कार्कीले संस्थाको कार्यसमितिले गरेको निर्णयअनुसार साधारणसभा तथा अधिवेशन तोकिएकै मितिमा आयोजना गरिने जानकारी दिएका छन् । इप्पानमा हाल ७०० भन्दा बढी ऊर्जा कम्पनी सदस्य आबद्ध रहेका छन् ।

इप्पानमा विवादको मुख्य विषय भने विधान संशोधन र संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रक्रियासँग जोडिएको छ । २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते पेश गरेको थियो ।

mulpatra mulpatra mulpatra

त्यसपछि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव कार्यान्वयन गर्ने जिम्मेवारी नेतृत्वलाई दिएको थियो । तर संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण हुन नसकेपछि त्यसको वैधानिक अवस्थालाई लिएर संस्थाभित्र मतभेद देखिएको हो ।

अध्यक्ष कार्की पक्षले जिल्ला प्रशासन कार्यालयबाट अनुमोदन नभएको संशोधित विधानका आधारमा निर्वाचनमा जाँदा कानुनी जटिलता आउन सक्ने भएकाले हाल कायम रहेको विधान २०७८ अनुसार अधिवेशन गर्नुपर्ने अडान लिएको छ । कार्कीले सबै पक्षलाई समेटेर सहमतिका साथ निर्वाचन सम्पन्न गर्नु नै उपयुक्त हुने बताएका छन् ।

यता, उपमहासचिव प्रकाशचन्द्र दुलालसहितको असन्तुष्ट पक्षले भने २३औँ साधारणसभाले महासंघमा रूपान्तरण र नयाँ विधान कार्यान्वयनको स्पष्ट म्यान्डेट दिएको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगरी निर्वाचनमा जानु गैरकानुनी हुने तर्क गर्दै आएको छ । उनीहरूले साधारणसभाको निर्णय कार्यसमितिले उल्ट्याउन नसक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

विवादका बीच इप्पानले विधान संशोधनसम्बन्धी मस्यौदा र प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको दाबी गर्दै विधान हराएको वा गायब पारिएको भन्ने आरोपको खण्डन गरेको छ । संस्थाले यस्ता प्रचारप्रति भ्रममा नपर्न सदस्य तथा ऊर्जा व्यवसायीहरूलाई आग्रह गरेको छ ।

यसैबीच, २०८३ जेठ २५ गते सम्पन्न कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा अध्यक्ष पदका लागि योग्य सदस्यहरूलाई खुला प्रतिस्पर्धाको अवसर दिने प्रस्ताव पनि साधारणसभामा लैजाने निर्णय गरेको छ ।

इप्पानका पदाधिकारीहरूबीच मतभेद कायम रहे पनि अधिकांश सदस्यहरू संस्थाको हितका लागि सहमतिमार्फत समाधान खोज्नुपर्ने पक्षमा देखिएका छन् । महासचिव बलराम खतिवडाले आगामी नेतृत्व जसको आए पनि सबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

आगामी जेठ २९ गते हुने साधारणसभा तथा अधिवेशनले संस्थाको नेतृत्व चयनसँगै विधान संशोधन र महासंघमा रूपान्तरणसम्बन्धी बहसलाई पनि नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com