Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मदन भण्डारीको राजनीतिक सुद्धिकरणको कुरा: एमालेमा कसले गर्ने पुरा?

मदन भण्डारीको राजनीतिक सुद्धिकरणको कुरा: एमालेमा कसले गर्ने पुरा?
  • ४ जेष्ठ २०८२, शनिबार ११:२७

आज देशभर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता द्धय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औं स्मृति दिवस मनाइदैछ । जनताको बहुदलीय जनवादका प्रणेताको शंकास्पद मृत्युको आजसम्म अत्तोपत्तो छैन । सत्तामा पुगेको पार्टी एमालेले भण्डारीको मृत्य पत्ता लगाउन नसके पनि उनको सिद्धान्त चाहिँ धन्न पत्ता लगाएको छ र जबज सर्वश्रेष्ठ सिद्धान्त भन्न चाहि छुटाएको छैन । यहाँ उनै भण्डारी र एमालेको विषयमा कुरा गर्न खोजिएको छ ।

mulpatra

नेपाली राजनीतिमा चम्किलो ताराका रुपमा मदन भण्डारी स्थापित भएका छन् । जसले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र समग्र नेपाली राजनीतिमा सिद्धान्त, नैतिकता र जनआन्दोलनको मिश्रण गराइ प्रजातन्त्रको मार्ग प्रशस्त गरे । मदन भण्डारी नेपाली राजनीतिको प्रतिभाशाली चिन्तक र योद्धा थिए । उनको “जनताको बहुदलिय जनवाद“ को सिद्धान्तले नेपालमा जनवाद र समाजवादको नयाँ मोड सिर्जना गर्यो । उनको ‘जनताको बहुदलिय जनवाद’ माक्र्सवादलाई नेपाली ढाँचामा ढालेर लोकतन्त्र र समाजवादलाई जोड्ने प्रयास थियो । उनले भ्रष्टाचारमुक्त, अनुशासित र जनआधारित नेतृत्वमा विश्वास गर्ने गरि नैतिक राजनीतिको समेत कुरा उठाएका थिए । गरीब, शोषित पीडित र महिलाको अधिकारलाई प्राथमिकता राख्दै सामाजिक न्यायको ढोका खोल्ने काम समेत गर्ने प्रयास गरे ।
उनको राजनीतिक दर्शनले “जनताको बहुदलिय जनवाद“ को अवधारणा प्रस्तुत गरेर नेपाली राजनीतिलाई सुधार गर्ने प्रयास गरे । तर, उनको अकाल मृत्युले उनको सपनालाई अपूरो बनायो । आज, एमाले र नेपाली राजनीतिक परिदृश्यमा भण्डारीको विचारधारा र सपनालाई कसले अगाडि बढाउने भन्ने प्रश्नले धेरैलाई सोच्न बाध्य बनाएको छ ।
भण्डारी राजनीतिमा नैतिकता, पारदर्शिता र जनताको भरपर्दोतामा विश्वास गर्थे । उनले भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाए र पार्टीभित्र पनि अनुशासन र सिद्धान्तकै पक्ष लिए ।
भण्डारीको मृत्यु पछि एमालेभित्र विचारधारागत संघर्ष सुरु भयो । एकतर्फ पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सशस्त्र क्रान्ति अघि बढ्यो अर्कोतर्फ एमालेका नेताहरू भण्डारीको बहुदलिय जनवादको लाइनमा अघि बढ्न चाहन्थे । ०६२÷०६३ को राजनीतिक परिवर्तन र गणतन्त्र स्थापना भएपछि भण्डारीको सपना केही त पुरा भए तर उनले प्रतिपादित गरेको सिद्धान्त जबजमा छलफल विरलै हुन थाल्यो । एमाले भित्र पार्टी विभाजन फेरी माओवादीसँगको एकिकरण भइ नेकपा गठन, पुनः विभाजन जस्ता कुराले विचारधाराको अस्थिरता देखाइरहयो ।
वर्तमान अवस्थामा मदन भण्डारीको राजनीतिक सपना, उनको विरासत, एमालेमा उनको विचारधाराको स्थिति, र उक्त सपना पूरा गर्ने जिम्मेवारी कसले लिनसक्छ भन्ने प्रश्न उब्जिएको छ । भण्डारीको निधन पश्चात एकीकरण, विभाजन र गुटबन्दीले पार्टीलाई सिद्धान्तविहीन बनाएको छ, विचारधाराको संकट देखिएको छ । भण्डारी पछि नेतृत्वमा रहेका ओली लगायतका नेताहरुले आफ्नै तरिकाले जबज र कम्युनिष्ट आन्दोलनको व्याख्या गरे । नेतृत्व पंक्तिको जनतासँग दूरी बढ्दै गयो, भ्रष्टाचार संस्थागत भए, सामुहिक छलफलको अभावमा नीति, सिद्धान्त अलपत्र परे र पुस्तान्तरणको प्रयास नहुँदा पार्टीलाई चलायमान बनाइरहन समस्या रहेको देखिएको छ ।
तर, आज एमालेको नेतृत्वमा रहेका केपी शर्मा ओलीले यस सिद्धान्तलाई कति सम्म अघि बढाएका छन ? कम्युनिष्ट कार्यकर्ताहरूको मान्यता के छ ? र ओलीको नेतृत्व भण्डारीको दर्शनसँग कति मेल खान्छ ? यस विषयमा गहन विश्लेषण गर्ने बेला भएको छ ।
केपी शर्मा ओली नेतृत्वको एमालेले भण्डारीको विचारधारालाई औपचारिक रूपमा समर्थन गरे । ओलीले आफूलाई भण्डारीको विचारधाराको धरोहर भन्ने गर्छन्, तर उनको नेतृत्वमा पार्टीमा केन्द्रीकृत एकल निर्णय प्रक्रिया बढेको आरोप लाग्ने गरेको छ । संस्थागत छलफल हुन छाडेको छ । सिद्धान्त र व्यवहारका बारेमा छलफल हुन छाडेको छ । पार्टीभित्र गुटबन्दी, भ्रष्टाचार, आसेपासे तन्त्र र जनतासँगको दूरीले भण्डारीको सपनालाई धक्का पुर्याएको छ ।
मदन भण्डारीको राजनीतिक सुद्धिकरणको सपना अपूरा नै रहनु हुँदैन । भण्डारीको सपना पूरा गर्न एमालेले आफ्नो विचारधारा, नेतृत्व र जनतासँगको सम्बन्ध मजबूत बनाउनुपर्छ । एमालेले आन्तरिक लोकतन्त्र, सिद्धान्तगत स्पष्टता र जनसम्पर्क बढाउन आवश्यक छ । एमालेले यदि उनको विचारधारालाई साँच्चै अगाडि बढाउन चाहन्छ भने पार्टीभित्र सुधार, नैतिकता र जनताको विश्वास जित्ने प्रयास गर्नुपर्छ । युवा पुस्ता र सिद्धान्तवादी नेताहरूले नै यो दायित्व बोक्नुपर्छ । अन्यथा, भण्डारीको सपना इतिहासको पृष्ठभूमिमा मात्र सीमित हुनेछ । सिद्धान्त र व्यवहारको एकताले मात्र मदन भण्डारीको सपना साकार हुनेछ ।
हिजो मदन भण्डारी बहुदलिय व्यवस्थामा विश्वास गर्थे संसदीय लोकतन्त्र र जनवादी अधिकारलाई समाजवादसँग जोड्ने प्रयास गरेका थिए । भ्रष्टाचारमुक्त, पारदर्शी र जनताप्रति जवाफदेही नेतृत्वको कुरा गर्दै नैतिक राजनीतिलाई प्रमुख मान्थे । सामाजिक न्यायका लागि गरीब, दलित, महिला र सीमान्तकृत समुदायको सशक्तिकरणमा जोड दिएका थिए ।
आज ओली नेतृत्वको राजनीतिक अभ्यासमा केन्द्रीकृत नेतृत्व देखिएको छ । पार्टीभित्र आलोचनालाई सहन नगर्ने र निर्णय प्रक्रियामा सानो समूहमा निर्भरता छ । सिद्धान्त भन्दा पनि व्यक्तिवादी व्यवहारमा जोड दिएको देखिन्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने प्रयासमा लागिरहेको आरोप समेत ओलीलाई छ । संस्थागत भ्रष्टाचारको बृद्धि र त्यसमा एमालेकै नेतृत्व पनि पटक पटक विवादमा आइरहने घटनाले आर्थिक जवाफदेहितामा कमजोर देखिँदा आम जनतामा वितृष्णा फैलिरहेको छ । यसबाट धेरैले प्रश्न पनि गर्ने गरेका छन् के ओलीले भण्डारीको विचारधारा बचाएका छन् वा आफ्नै राजनीतिक स्वार्थलाई प्राथमिकता दिएका छन ? प्रश्न अहिलेसम्म अनुत्तरित छ ।
तरपनि एमाले निर्माण र कम्युनिष्ट आन्दोलनमा ओलीको योगदान महत्वपूर्ण छँदै छ तर उनी रणनीतिक राजनीतिज्ञ हुन सक्छन्, विचारधाराको धरोहरवाहक होइनन् । यदि उनले पार्टीमा सुधार गर्न सकेनन् भने, एमालेले भण्डारीको विरासत गुमाउनेछ ।