Close

Recent Posts

मदन भण्डारीको राजनीतिक सुद्धिकरणको कुरा: एमालेमा कसले गर्ने पुरा?

मदन भण्डारीको राजनीतिक सुद्धिकरणको कुरा: एमालेमा कसले गर्ने पुरा?
  • ४ जेष्ठ २०८२, शनिबार ११:२७

आज देशभर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता द्धय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औं स्मृति दिवस मनाइदैछ । जनताको बहुदलीय जनवादका प्रणेताको शंकास्पद मृत्युको आजसम्म अत्तोपत्तो छैन । सत्तामा पुगेको पार्टी एमालेले भण्डारीको मृत्य पत्ता लगाउन नसके पनि उनको सिद्धान्त चाहिँ धन्न पत्ता लगाएको छ र जबज सर्वश्रेष्ठ सिद्धान्त भन्न चाहि छुटाएको छैन । यहाँ उनै भण्डारी र एमालेको विषयमा कुरा गर्न खोजिएको छ ।

mulpatra

नेपाली राजनीतिमा चम्किलो ताराका रुपमा मदन भण्डारी स्थापित भएका छन् । जसले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र समग्र नेपाली राजनीतिमा सिद्धान्त, नैतिकता र जनआन्दोलनको मिश्रण गराइ प्रजातन्त्रको मार्ग प्रशस्त गरे । मदन भण्डारी नेपाली राजनीतिको प्रतिभाशाली चिन्तक र योद्धा थिए । उनको “जनताको बहुदलिय जनवाद“ को सिद्धान्तले नेपालमा जनवाद र समाजवादको नयाँ मोड सिर्जना गर्यो । उनको ‘जनताको बहुदलिय जनवाद’ माक्र्सवादलाई नेपाली ढाँचामा ढालेर लोकतन्त्र र समाजवादलाई जोड्ने प्रयास थियो । उनले भ्रष्टाचारमुक्त, अनुशासित र जनआधारित नेतृत्वमा विश्वास गर्ने गरि नैतिक राजनीतिको समेत कुरा उठाएका थिए । गरीब, शोषित पीडित र महिलाको अधिकारलाई प्राथमिकता राख्दै सामाजिक न्यायको ढोका खोल्ने काम समेत गर्ने प्रयास गरे ।
उनको राजनीतिक दर्शनले “जनताको बहुदलिय जनवाद“ को अवधारणा प्रस्तुत गरेर नेपाली राजनीतिलाई सुधार गर्ने प्रयास गरे । तर, उनको अकाल मृत्युले उनको सपनालाई अपूरो बनायो । आज, एमाले र नेपाली राजनीतिक परिदृश्यमा भण्डारीको विचारधारा र सपनालाई कसले अगाडि बढाउने भन्ने प्रश्नले धेरैलाई सोच्न बाध्य बनाएको छ ।
भण्डारी राजनीतिमा नैतिकता, पारदर्शिता र जनताको भरपर्दोतामा विश्वास गर्थे । उनले भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाए र पार्टीभित्र पनि अनुशासन र सिद्धान्तकै पक्ष लिए ।
भण्डारीको मृत्यु पछि एमालेभित्र विचारधारागत संघर्ष सुरु भयो । एकतर्फ पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सशस्त्र क्रान्ति अघि बढ्यो अर्कोतर्फ एमालेका नेताहरू भण्डारीको बहुदलिय जनवादको लाइनमा अघि बढ्न चाहन्थे । ०६२÷०६३ को राजनीतिक परिवर्तन र गणतन्त्र स्थापना भएपछि भण्डारीको सपना केही त पुरा भए तर उनले प्रतिपादित गरेको सिद्धान्त जबजमा छलफल विरलै हुन थाल्यो । एमाले भित्र पार्टी विभाजन फेरी माओवादीसँगको एकिकरण भइ नेकपा गठन, पुनः विभाजन जस्ता कुराले विचारधाराको अस्थिरता देखाइरहयो ।
वर्तमान अवस्थामा मदन भण्डारीको राजनीतिक सपना, उनको विरासत, एमालेमा उनको विचारधाराको स्थिति, र उक्त सपना पूरा गर्ने जिम्मेवारी कसले लिनसक्छ भन्ने प्रश्न उब्जिएको छ । भण्डारीको निधन पश्चात एकीकरण, विभाजन र गुटबन्दीले पार्टीलाई सिद्धान्तविहीन बनाएको छ, विचारधाराको संकट देखिएको छ । भण्डारी पछि नेतृत्वमा रहेका ओली लगायतका नेताहरुले आफ्नै तरिकाले जबज र कम्युनिष्ट आन्दोलनको व्याख्या गरे । नेतृत्व पंक्तिको जनतासँग दूरी बढ्दै गयो, भ्रष्टाचार संस्थागत भए, सामुहिक छलफलको अभावमा नीति, सिद्धान्त अलपत्र परे र पुस्तान्तरणको प्रयास नहुँदा पार्टीलाई चलायमान बनाइरहन समस्या रहेको देखिएको छ ।
तर, आज एमालेको नेतृत्वमा रहेका केपी शर्मा ओलीले यस सिद्धान्तलाई कति सम्म अघि बढाएका छन ? कम्युनिष्ट कार्यकर्ताहरूको मान्यता के छ ? र ओलीको नेतृत्व भण्डारीको दर्शनसँग कति मेल खान्छ ? यस विषयमा गहन विश्लेषण गर्ने बेला भएको छ ।
केपी शर्मा ओली नेतृत्वको एमालेले भण्डारीको विचारधारालाई औपचारिक रूपमा समर्थन गरे । ओलीले आफूलाई भण्डारीको विचारधाराको धरोहर भन्ने गर्छन्, तर उनको नेतृत्वमा पार्टीमा केन्द्रीकृत एकल निर्णय प्रक्रिया बढेको आरोप लाग्ने गरेको छ । संस्थागत छलफल हुन छाडेको छ । सिद्धान्त र व्यवहारका बारेमा छलफल हुन छाडेको छ । पार्टीभित्र गुटबन्दी, भ्रष्टाचार, आसेपासे तन्त्र र जनतासँगको दूरीले भण्डारीको सपनालाई धक्का पुर्याएको छ ।
मदन भण्डारीको राजनीतिक सुद्धिकरणको सपना अपूरा नै रहनु हुँदैन । भण्डारीको सपना पूरा गर्न एमालेले आफ्नो विचारधारा, नेतृत्व र जनतासँगको सम्बन्ध मजबूत बनाउनुपर्छ । एमालेले आन्तरिक लोकतन्त्र, सिद्धान्तगत स्पष्टता र जनसम्पर्क बढाउन आवश्यक छ । एमालेले यदि उनको विचारधारालाई साँच्चै अगाडि बढाउन चाहन्छ भने पार्टीभित्र सुधार, नैतिकता र जनताको विश्वास जित्ने प्रयास गर्नुपर्छ । युवा पुस्ता र सिद्धान्तवादी नेताहरूले नै यो दायित्व बोक्नुपर्छ । अन्यथा, भण्डारीको सपना इतिहासको पृष्ठभूमिमा मात्र सीमित हुनेछ । सिद्धान्त र व्यवहारको एकताले मात्र मदन भण्डारीको सपना साकार हुनेछ ।
हिजो मदन भण्डारी बहुदलिय व्यवस्थामा विश्वास गर्थे संसदीय लोकतन्त्र र जनवादी अधिकारलाई समाजवादसँग जोड्ने प्रयास गरेका थिए । भ्रष्टाचारमुक्त, पारदर्शी र जनताप्रति जवाफदेही नेतृत्वको कुरा गर्दै नैतिक राजनीतिलाई प्रमुख मान्थे । सामाजिक न्यायका लागि गरीब, दलित, महिला र सीमान्तकृत समुदायको सशक्तिकरणमा जोड दिएका थिए ।
आज ओली नेतृत्वको राजनीतिक अभ्यासमा केन्द्रीकृत नेतृत्व देखिएको छ । पार्टीभित्र आलोचनालाई सहन नगर्ने र निर्णय प्रक्रियामा सानो समूहमा निर्भरता छ । सिद्धान्त भन्दा पनि व्यक्तिवादी व्यवहारमा जोड दिएको देखिन्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने प्रयासमा लागिरहेको आरोप समेत ओलीलाई छ । संस्थागत भ्रष्टाचारको बृद्धि र त्यसमा एमालेकै नेतृत्व पनि पटक पटक विवादमा आइरहने घटनाले आर्थिक जवाफदेहितामा कमजोर देखिँदा आम जनतामा वितृष्णा फैलिरहेको छ । यसबाट धेरैले प्रश्न पनि गर्ने गरेका छन् के ओलीले भण्डारीको विचारधारा बचाएका छन् वा आफ्नै राजनीतिक स्वार्थलाई प्राथमिकता दिएका छन ? प्रश्न अहिलेसम्म अनुत्तरित छ ।
तरपनि एमाले निर्माण र कम्युनिष्ट आन्दोलनमा ओलीको योगदान महत्वपूर्ण छँदै छ तर उनी रणनीतिक राजनीतिज्ञ हुन सक्छन्, विचारधाराको धरोहरवाहक होइनन् । यदि उनले पार्टीमा सुधार गर्न सकेनन् भने, एमालेले भण्डारीको विरासत गुमाउनेछ ।