प्रसाईमाथि दोष थुपारेर समितिमा भित्रिएका लिङदेन र थापानै राजावादी आन्दोलनबाट भागे, अलमलमा समिति

काठमाडौं– काठमाडौंको रत्नपार्कबाट सुरु भएको राजावादी आन्दोलन सिफल चौरमा आइपुग्दा सेलाएको छ । त्यति मात्र होइन दुवै राप्रपा अध्यक्षहरु समेत आन्दोलनबाट टाडिन थालेका छन् । जसका कारण राजावादी आन्दोलन छिन्नभिन्न अवस्थामा पुगेको छ ।
गत वैशाख १५ गतेबाट सुरु भएको आन्दोलन तीन दिनमै निस्ताएको छ । जसका कारण राप्रपाकै नेताहरुपनि आन्दोलनबाट पन्छिन थालेका छन् । आन्दोलनमा सहभागिता घट्न थालेपछि राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउन लागेको बताइरहेका छन् । तर राजावादी नै अहिले आन्दोलन औंचित्यबिहिन भएको बताउन थालेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापासमेत अहिले राजावादी आन्दोलनबाट टाडिएका छन् । गत साता समितिले राखेको पत्रकार सम्मेलनमा लिङ्देन देखिएनन् । उनै राजेन्द्र लिङ्देनले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई चैत १५ गते दोष र आरोप लगाएर समितिमा भित्रिएका थिए ।
नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो । जसमध्ये ३० वटाभन्दा बढी दलले दुर्गा प्रसाईको खोजी गरेको समितिका एक जना सदस्यले जानकारी दिए ।
काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने तथा देशका प्रमुख शहरहरुमा विरोध सभा, धर्ना र जनप्रदर्शन गर्ने जनाइएको छ ।
आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि फेरि काठमाडौं केन्द्रित हुने बताइएको छ ।
गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो । राप्रपा र सरकारले लगाएको आरोप पुष्टि भएन ।
अहिले राजावादी आन्दोलनमा उनै प्रसाईको खोजी र नेतृत्व आवश्यक रहेको समिति र राप्रपाकै नेताहरुले बताउन थालेका छन् ।
१५ जेठमा सरकार र गणतन्त्र पक्षधर दलहरूले गणतन्त्र दिवस मनाउने तयारी गरेका छन् । राजावादी समूहले पनि त्यसै दिनबाट राजा फर्काउने आन्दोलन चर्काउने घोषणा गरेको छ । यति बेला पनि प्रसाईको खोजी भएको थियो ।
प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन । यस विषयमा राप्रपाले सहयोग नगरेको प्रसाईका समर्थकले आरोप लगाउँदै आएका छन् । तर प्रसाईले भने यस विषयमा केही प्रतिक्रिया दिएका छैन ।
संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले भने आन्दोलनका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिए । राजसंस्था फकाउने आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने भएका कारण छलफल भइरहेको उनले बताए । ‘आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन गरेको छ । त्यही भएर आन्दोलनको रुवरुप परिवर्तन हुन्छ ।’ उनले भने ।
प्रवक्ता नेपालले जे भने जस्तो भनेपनि राजावादी आन्दोलनलाई दुई राप्रपासहित राजावादी घटकले पार लगाउन नसक्ने आन्दोलनमै सहभागिहरुबाट आवाज उठ्न थालेको छ ।