भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की, यसरी टेबुल ठोकाठोक

काठमाडौं – भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको बताए । संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी पराजुलीको थियो ।
पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने मागसमेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दामात्रै हो ? भन्दै प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै उनले रुलिङको माग गरे ।
विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारणको जवाफ खोजे । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सवैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।
पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे ।
त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । त्यसपछि फेरि विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरे । अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहो¥याए ।