एमालेले बन्द गरायो पुर्वराष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिक बाटो

काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने बाटो नेकपा एमालले बन्द गराएको छ । पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले उनी कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्दै सक्रिय राजनीतिमा आउन उचित नहुने निष्कर्ष निकालेपछि अहिलेलाई भण्डारीको सक्रिया राजनीतिमा आउने इच्छामा अंकुश लागेको छ ।
विगतको राजनीतिमा भण्डारीको सहयोगमा नै केपी ओली अध्यक्ष बन्न सफल भएका थिए तर आज उनै केपी ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेका छन् ।
पार्टीको बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका थुप्रै भण्डारीलाई राजनीतिमा आउन रोक्न नहुने पक्षमा थिए तर बहुमत पक्ष ओली पक्षीय रहेकोले भण्डारीलाई रोक्न सफल भएको भण्डारी पक्षका एक केन्द्रीय सदस्यले बताए ।
यसका साथै केन्द्रीय कमिटिले भदौमा हुने विधान महाधिवेशन मार्फत उमेर हद ७० र दुई कार्यकालको सीमा प्रतिबन्ध हटाउने निर्णय समेत गरेको छ । यसले आगामी अधिवेशनमा वर्तमान अध्यक्ष ओलीलाई पुन अध्यक्ष हुने बाटो खुलाइदिएको छ ।